काठमाडौंमा भूमिगत भएका अर्जुन र किरणलाई व्यूरोद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरो, बबरमहलले मावन बेचबिखनको अभियोगमा २५ वर्षीय अर्जुन भन्ने चन्द्रबहादुर तामाङ र ३० वर्षीय किरण तामाङलाई पक्राउ गरेको छ ।

पीडितहरूको जाहेरीका आधारमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका ७ स्थायी वतन भइ काठमाडौंको तार्केश्वर नगरपालिका ५ बस्दै आएका अर्जुन र दुप्चेश्वर ३ स्थायी वतन भइ तार्केश्वर ७ बस्दै आएका किरणलाई पक्राउ गरिएको व्यूरोका प्रमुख (एसएसपी) ओमबहादुर रानाले बताएका छन् ।

अर्जुन र किरणलाई व्यूरोको टोलीले चैत १६ गते तार्केश्वर नगरपालिकाको वडा नं. ५ र ७ बाट पक्राउ गरेको एसएसपी रानाले बताए ।

२६ वर्षीया महिलालाई अर्जुनले सामाजिक सञ्जालबाट चिनजान गरी कलंकीमा रहेको होटलमा काम लगाइदिन्छु भनेर प्रलोभनमा पारेर काठमाडौंमा भेट्न बोलाएका थिए । काठमाडौं आएको समयमा प्रलोभनमा पारेर ३/४ दिन भारत घुमाउन जाने भनेर अर्जुनले किरणको जिम्मा लगाएर फरार भएका विज्ञप्तिमा उल्लेख छ ।

पीडित महिलालाई अर्जुनले विश्वासमा लिएर किरणको साथमा भारत घुम्न पठाएका थिए । नयाँ बसपार्क, स्वयम्भू हुँदै महिलालाई किरणले भारतको पुना भन्ने स्थानमा लगेर ३ जना अपरिचत महिलाको जिम्मा लगाएका थिए ।

पीडित महिलाले नेपालमा रहेका आफन्तलाई फोनमार्फत सम्पर्क गरेकी थिइन् । आफन्तको सल्लाहमा पीडित महिला नजिकै रहेको भारतीय प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । त्यसपछि विभिन्न संघ संस्थाको पहलमा पीडित महिलालाई पुस ९ गते काठमाडौं ल्याइएको थियो ।

पीडितको जाहेरीपछि व्यूरोले अर्जुन र किरणलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । उनीहरू भूमिगत भएर काठमाडौंमा बस्दै आएका थिए ।

Published : Monday, 2024 April 1, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया