ठूलो परिमाणमा कोकिनसहित दुई जना विदेशी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

१ किलो ३९० ग्राम कोकिनसहित पक्राउ पर्नेहरूमा ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो डोस सान्तोस र फर्नान्डा भेल डोस सान्तोस रहेको व्यूरोद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । बरामद गरिएको अवैध लागुऔषध कोकिनको अवैध बजार मूल्य ४ करोड ३६ लाख ५० हजार हुन आउने प्रहरीले जनाएको छ ।

चैत १३ गते उनीहरूलाई ठमेलको एक होटलबाट व्यूरोको टोलीले पक्राउ गरेको जनाएको छ । उनीहरूले सुटकेशभित्र प्याकेटमा ¥याप गरेर कोकिनका क्याप्सुलहरू राखेको पाइएको छ ।

कोकिनको तौल १ किलो ३९० ग्राम छ । पक्राउ परेका दुबै जनाले ब्राजिलको सापाउलोबाट कोकिनका क्याप्सुलहरू निलेर ल्याएको खुलेको छ ।

उनीहरूको पेटमा थप क्याप्सुलहरू रहेको देखिएको भन्दै प्रहरी अस्पताल पठाएको थियो । अस्पताल लगेर ६५ ग्राम कोकिन निकालिएको थियो ।

000

अवैध लागु औषध कोकिन १ के.जी. ४५५ ग्राम सहित २ जना
कोकिनका अन्तराष्ट्रिय कारोवारीहरु पक्राउ । विभिन्न मुलुकहरुबाट नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्ने बिदेशी नागरीकहरूको यस ब्यूरोद्वारा निग्रानी गर्ने क्रममा लामो समयको निग्रानी पश्‍चात अवैध लागु औषध कोकिनको कारोबारमा संलग्न अन्तराष्ट्रिय गिरोहका दुई जना ब्राजिलियन नागरीकहरुलाई लागु औषध कोकिनका क्याप्सुलहरू सहित काठमाण्डौबाट पक्राउ गरिएको छ ।

मिति २०८०।१२।१३ गते काठमाण्डौ जिल्ला का.जि.का.म.न.पा. १७ ठमेल जे.पी. मार्ग स्थित एक होटेलमा शंकास्पदरुपमा बसि रहेका ब्राजिलियन नागरीक LARISON BRITO DOS SANTOS को शुटकेश भित्र लुकाई छिपाई राखिएका ७७ वटा प्लाष्टिकले र्‍यापिङ गरिएका कोकिनका क्याप्सुलहरु भित्र राखिएको अवैध लागु औषध कोकिन ८४० ग्राम तथा FERNANDA VALE DOS SANTOS को शुटकेश भित्र लुकाई छिपाई राखिएका ६२ वटा प्लाष्टिकले र्‍यापिङ गरिएका कोकिनका क्याप्सुलहरु भित्र राखिएको अवैध लागु औषध कोकिन ५५० ग्राम गरी जम्मा १३९ क्याप्सुलबाट कोकिन १ के.जी. ३९० ग्राम सहित २ जना मानिस पक्राउ गरिएको छ ।

अनुसन्धानको क्रममा निजहरु दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरु निलेर पेटमा लुकाउ छिपाउ गरी नेपाल ल्याएको खुल्न आएको छ । निजहरु संग पेटमा थप क्याप्सुलहरु समेत हुन सक्ने देखिएकाले तत्काल निजहरु दुवै जनालाई नेपाल प्रहरी अस्पताल पठाईएकोमा निजहरु मध्य LARISON BRITO DOS SANTOS पेटबाट थप ६ वटा प्लाष्टिकले र्‍यापिङ गरिएका कोकिनका क्याप्सुलहरु भित्र राखिएको अवैध लागु औषध कोकिन ६५ ग्राम बरामद गरिएको छ । साथै पक्राउ परेका LARISON BRITO DOS SANTOS र FERNANDA VALE DOS लाई सम्मानित जिल्ला अदालत काठमाण्डौबाट अनुमति लिई थप अनुसन्धान भई रहेको जानकारीको लागि अनुरोध ।

नोट:- बरामद गरिएको अवैध लागु औषध कोकिनको अवैध बजार मुल्य रु. ४ करोड ३६ लाख ५० हजार हुन आउँछ ।

Published : Friday, 2024 March 29, 1:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया