श्री एयरलाइन्सले ८० सिट क्षमताका २ वटा ठूला सेकेण्डह्याण्ड जहाज ल्यायो

काठमाडौं । श्री एयरलाइन्सले ८० सिट क्षमताका दुई जहाजहरू ल्याएको छ ।

मंगलबार श्री एयरलाइन्सले दुई वटा ठूला जहाज काठमाडौं ल्याएको हो । जहाजहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

श्री एयरलाइन्सले ल्याएका दुई जहाजहरू क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ हुन् ।

जहाजहरूको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले बताएका छन् ।

जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएका थिए । सेकेण्डह्याण्ड जहाजहरू श्री एयरलाइन्सले किनेर ल्याएको छ । प्रक्रिया पूरा गरेर दुई जहाजहरूले चाँडै व्यावसायिक उडान भर्नेछन् ।

श्री एयरलायन्सले आफ्नो बेडामा मंगलबार ८० सिट क्षमताका दुइटा बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाज थपेको छ । योसँगै श्रीसँग फिक्स्ड विङ (जहाज) १० र ८ वटा रोटर (हेलिकोप्टर) गरी वायुयानको संख्या १८ पुगेको छ । श्रीपछि नेपालमा सर्वाधिक जहाज हुनेमा बुद्ध एयर रहेको छ । योसँग हाल उडानमा १७ वटा एटीआर विमान छन् ।

श्री एयरलाइन्सले सन् २०१७ देखि ५० सिट क्षमताका दुई सीआरजे २०० तथा ७० सिट क्षमताको दुई आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन गरेको थियो ।

सन् २०१९ देखि दुई, सन् २०२२ देखि दुई ८० सिट क्षमताका जहाज ल्याएको कम्पनीले जहाज थपेर उडान गन्तव्य विस्तार गरिरहेको छ ।

अमेरिकाबाट नेपाल पुग्न यी दुवै विमान तीनवटा रात्रिबिसानमा २५ घण्टामा करिब १० हजार माइल (१६ हजार किलोमिटर)को हवाई दूरी पार गर्दै मंगलबार अपराह्न काठमाडौंमा अवतरण भएका हुन् ।

श्री एयरलाइन्सले यी जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरूभन्दा दोब्बर शक्तिशाली ५४०० सफ्ट हर्षपावर भएको तथा क्यानडाको प्राट एन्ड ह्विएनी कम्पनीबाट निर्मित इन्जिन रहेको जनाएको छ । उद्योगपति स्वर्गीय बनवारीलाल मित्तलले ६३ वर्षको उमेरमा २०५५ सालमा हेलिप्कटरहरूबाट श्री एयरलायन्स स्थापना गरेका थिए ।

Published : Tuesday, 2024 March 26, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया