फेसबुकमा शङ्का लागेपछि सन्की केटाले २१ वर्षीया युवतीको ज्यान लिए

इटहरी । सुनसरीको धरान उप–महानगरपालिका– १६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

चैत ७ गते धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूलको बीचमा रहेको खोल्सामा पहिचान नखुलेको महिला मृत अवस्थामा फेला परेकी थिइन् ।

शव फेला परेसँगै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, नेपाल प्रदेश प्रहरी कार्यालय धरानबाट म्यन सहितको प्रहरी टोली र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डक्टर सहितको टोली घटनास्थलमा खटिगई घटना सम्बन्धमा प्रारम्भीक अनुन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा महिलाको शव धरान उप–महानगरपालिका वडा नं. १६ की २१ वर्षीया सुमना श्रेष्ठको रहेको खुल्न आएको थियो ।

घटनाको प्रकृति हेर्दा मृतक सुमना श्रेष्ठको हत्या भएको देखिएपछि प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान थालेको थियो ।

प्रहरीले गहिरो अनुसन्धानपछि हत्यामा संलग्न धरान उप–महानगरपालिका वडा नं. १७ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेललाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

मृतक सुमना श्रेष्ठ र बाबुराम भुजेलबीच करीब २ वर्षदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

सुमना र बाबुरामको सम्बन्धमा बिस्तारै खटपट हुँदै गएपछि चैत ६ गते सुमनालाई भेट्न बाबुराम धरान आएका थिए । भेटघाट गरी बाबुरामले आफ्नै स्कुटरमा सुमनालाई राखी स्कुटर चलाउन सिकाउदै जाने क्रममा उनीहरूबीच फेसबुक प्रयोगको विषयमा विवाद भएको थियो ।

बिबाद बढेर गएपछि बाबुरामले सुमनाको खुकुरीले घाटी रेटी हत्या पश्चात खोल्सामा फालेर भागेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भुजेललाई धनकुटा नगरपालिका वडा नं. ९ मूलघाटबाट लुकिछिपी बसेको अवस्थामा फेला पारेर गत बिहीबार पक्राउ गरिएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Published : Saturday, 2024 March 23, 5:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया