भारतीय डाँकालाई सर्लाही प्रहरीले गोली हानेर ढाल्यो, एक जनाको उपचार हुँदै

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अमेरिकन पेस्तोलसहित दुई जना भारतीय डाँकालाई पक्राउ गरेको छ ।

सोमबार राति पौने ९ बजे सर्लाहीको बहरथवा नगरपालिका वडा नं. ६ मगर टोलमा रहेका डेरामा खानतलासी गर्दा २४ वर्षीय जितेन्द्रकुमार राउत र २८ वर्षीय सन्नीकुमार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताएका छन् ।

भारतको बिहार प्रदेश, सीतामढी जिल्ला सैयारा ग्राम थाना बस्ने लक्ष्मण सिंहको छोरा सन्नीकुमार सिंह र मोतीहारीको गंगापिपरा बस्ने अशोक राउतको छोरा जितेन्द्रकुमार सिंहमाथि शंका लागेर प्रहरीले बरहथवास्थित डेरामा चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा जितेन्द्रकुमारको साथबाट प्रहरीले ९ एमएम अटो पेस्टोल मेड ईन यूएसए लेखिएको पेस्टोल एक, गोली ६ राउण्ड र फायर भएको खोका थान १ बरामद भएको एसपी ज्ञवालीले बताएका छन् ।

अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याउने क्रममा बसबरिया गाउँपालिका वडा नं. ६ पोखरियाबाट अन्दाजी ७ सय मिटर अगाडि मलंगवातर्फको बाटोमा गाडीबाट भाग्ने क्रममा जितेन्द्रकुमारलाई नियन्त्रणमा लिन प्रहरीबाट चाइनिज पेस्तोल टाईप ५४ बाट ५ राउण्ड फायर खोल्नु परेको एसपी ज्ञवालीले बताए ।

पक्राउ गरेर ल्याउने क्रममा बाटोमा प्रहरीको गाडीबाट हामफालेर भाग्न खोज्ने जितेन्द्रकुमारलाई गोली हानेर प्रहरीले निन्त्रणमा लिएको एसपी ज्ञवालीले बताए । भाग्न खोज्ने जितेन्द्रकुमारको बायाँ घुँडा, दाहिने तिघ्रामा दुई राउण्ड गोली लागेको छ ।

गोली लागेर घाइते भएका जितेन्द्रकुमारलाई प्रादेशिक अस्पताल मलंगवामा उपचार भएको थियो । थप उपचारका लागि जितेन्द्रकुमारलाई जनकपुर पठाइएको छ । जितेन्द्रकुमारको अवस्था मध्यम रहेको छ ।
मधेश प्रदेशका जिल्लाहरूमा भारतीय डाँका र अपराधिक समूहको निकै चुनौती छ । सर्लाही प्रहरीले भारतीय अपराधी समूहबाट हुने अपराध रोकथामका लागि आफूलाई निकै चनाखो बनाएर राखेको छ ।

केही दिन अगाडि भारतीय डाँकाले रौतहट जिल्लामा मनी एक्सचेञ्जमा गोली प्रहार गरेर लुटपाट गर्न खोजेको थियो । तत्काल प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

Published : Tuesday, 2024 March 19, 11:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया