सुस्ता हत्याको रहस्य खुल्यो, काठमाडौंबाट खटिएको सीआईबीद्वारा १ महिना लगाएर २ जना पक्राउ

काठमाडौं । धारिलो हतियार प्रयोग गरी हजुरबुवा र नातीको हत्या गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले दुई जनालाई पक्राउ गरेको छ ।

फागुन १ गते बिहान ६ बजे नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवास्थितमा गण्डक बाँधको जग्गामा कुटि बनाई बसेका वर्ष ७० को अक्षयलाल चमार र उनका नाती वर्ष १२ को गौचरण चमारलाई धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

घटनामा अनुसन्धानको लागि व्यूरोबाट जिल्ला प्रहरी कार्यालय नवलपरासीमा खटिइ गएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी र ईलाका प्रहरी कार्यालय बेलाटारी समेतको संयुक्त टोलीले अनुसन्धान गरि घटनामा संलग्न व्यक्तिहरूलाई चैत ३ गते पक्राउ गरेको व्यूरोका प्रवक्ता (एसपी) होबिन्द्र बोगटीद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेकाहरूलाई कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलाटारी, नवलपरासीमा बुझाइएको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवाका वर्ष २९ को अजयकुमार धरिकार र नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवाका वर्ष २० का चन्दन हरिजन रहेका छन् ।
बरामद दशीप्रमाण
अजयकुमार धरिकारको घरबाट घटनामा प्रयोग गरेको चक्कु थान – १, घटनास्थलमा फेला परेको हाप पञ्जाको अर्को जोडी पञ्जा थान – १, अजयकुमार धरिकारले घटनामा लगाएको हुडी थान – १, अजय धरिकारले घटनाको समयमा लगाएको दायाँ हातको चोरी औंलाको भागमा २ ठाउँमा काटिएको पञ्जा थान – १ बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।
हत्याको कारण
२०८० सालको माघ २६ गते चन्दन हरिजनले मादक पदार्थ सेवन गरी सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवा बस्ने छिमेकीको मोटरसाईकलमा हानेपछि झगडा परेको थियो । मोटरसाईकलमा हानेपछि ईलाका प्रहरी कार्यालय बेलाटारीमा निवेदन दिएका थिए ।

सो विषयमा २०८० माघ २८ गते ईलाका प्रहरी कार्यालय बेलाटारीमा दुई पक्षलाई झिकाई छलफल भएको थियो ।

सोही विषयमा रिसईवी राखी निज विपक्षीसंग बदला लिने योजना बनाई त्रिवेणी नाहन मेलाको मौका पारी चन्दन हरिजनको साथी अजय धरिकारले भारतबाट चक्कु खरिद गरी ल्याएका थिए ।

भोलिपल्ट २०८० माघ २९ गते बेलुकी अक्षयलाल चमारको घर नजिक गई झगडा भएको छिमेकीलाई कुरेर बसेकोमा सो समयमा निजहरू नआएपछि योजना परिवर्तन गरी सोही स्थानमा बस्ने गरेका अक्षयलाल चमारलाई मारेमा त्यसको आरोप बिपक्षीलाई लगाउन सकिन्छ भन्ने मनसायले घटना घटाएका थिए । संगै सुतेको नातीले देखेपछि निजले प्रतिवादीहरूलाई चिनेको हुँदा निजको समेत हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

Published : Sunday, 2024 March 17, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया