मधेशमा अपराधका घटना बढ्न थालेकै बेला सर्लाही प्रहरीद्वारा २४ घण्टाभित्र २०२ फरार अपराधी पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीले २४ घण्टाभित्र २०२ जना फरार अपराधीहरूलाई पक्राउ गरेको छ ।

एकै दिनमा २०२ जना फरार अपराधीहरूलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताएका छन् ।

पक्राउ परेका फरार अपराधीहरूलाई सर्लाही जिल्ला अदालतमा बुझाइएको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । एसपी ज्ञवालीले प्रहरी युनिटीहरूमा विशेष टोली गठन गरेर फरार सूचीमा रहेका अपराधीहरूलाई पक्राउ गरेका हुन् । अभियान चलाउनुभन्दा अगाडि अपराधीहरू भारततर्फ भाग्न नसक्नु भनेर सिमानातर्फ विशेष सर्तकता पनि अपनाएका थिए ।

मधेश प्रदेशका जिल्लाहरूमा विभिन्न अपराधका घटना भइरहेका बेला सर्लाही प्रहरीले विशेष अभियान चलाएर २४ घण्टाभित्रै २०२ जना फरार अपराधीहरू पक्राउ गरेको छ ।

सर्लाही जिल्ला अन्तर्गतबाट बुझाईएका फरार अपराधी मध्ये कुटपिट, जुवा, जालसाजी, डाँका चोरी, जवरजस्ती करणी र भ्रष्टचार लगायतका रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाही लगायतका प्रत्येक युनिटहरूबाट बिभिन्न टोलीहरू गठन गरी शुक्रबार पक्राउ गरिएको एसपी ज्ञवालीले बताए ।

पक्राउ परेकाहरूमध्ये कम्तिमा ५ दिनदेखि ३ वर्ष ६ महिनासम्म) कैद भएका छन् । उनीहरूलाई १ सय रुपियाँदेखि ३ लाख ६३ हजारसम्म जरिवाना रहेको छ । अदालतबाट सजाय र कैद जरिवाना फैसला भएपछि विगत दश वर्षदेखि फरारको सूचीमा रहेका कतिपय अपराधीलाई पनि पक्राउ गरिएको छ ।

सर्लाही प्रहरीले विभिन्न तस्करीमा संलग्न, लागुऔषध लगायतका घटनामा संलग्नहरूलाई पनि पक्राउ गरेर कारबाही प्रक्रियाहरू अगाडि बढाइसकेको छ । समाजमा उछृङ्खल गतिविधि गर्ने र साम्प्रदायिक सद्भाव भड्काउने तत्वहरूलाई पनि प्रहरीले विशेष निगरानी गरेर राखेको छ ।

Published : Friday, 2024 March 15, 6:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया