झापामा नरमायाको हत्या, दुई जना पक्राउ

दमक । प्रहरीले झापा जिल्लाबाट हत्याको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

गौरादह नगरपालिका–७ योगीटार बस्ने ८२ वर्षीया नरमाया बिश्वकर्माको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार पक्राउ गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा मृतककै नाती १८ वर्षीय दुई जना किशोर रहेका छन् । गत शनिबार घरबाट हराएकी नरमायाको खोजी गर्ने क्रममा आफ्नै घर पछाडि रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा बुधबार शव फेला परेको थियो ।

घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरीलेहत्यामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । शनिबार राति शौचालय जान उठेकी नरमायालाई फलामको रड प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

हजुरआमाको मृत्यु भए पश्चात आफ्नो साथीको सहयोगमा घर नजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2024 March 14, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया