कांग्रेसका शर्मा र प्रचण्डका भाइ दाहालद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट युवराज शर्मा र कम्युनिस्ट गठबन्धनबाट नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा कांग्रेसको तर्फबाट शर्माले आनन्दप्रसाद ढुङ्गानाको प्रस्तावमा उम्मेदवारी दर्ता गराएका छन् । शर्मालाई कांग्रेसका सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शेखरकुमार सिंहले समर्थन गरेका छन् ।

कम्युनिस्ट गठबन्धनका दाहाललाई माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामीले प्रस्ताव गरेका छन् ।

दाहाललाई एमालेका सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी)का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरेका छन् ।

बाँके जिल्लाका कांग्रेसका उम्मेदवार शर्मालाई लोकतान्त्रिक समूहको समर्थन छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ समेत रहेका सांसद नारायण दाहाललाई कम्युनिस्टहरूको समर्थन छ ।

Published : Monday, 2024 March 11, 12:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया