राजनीतिमा झन् महिलालाई डबल अट्याक गर्दा रहेछन् : सभापति डा.राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले राजनीतिज्ञले महिलाहरूलाई सबैभन्दा धेरै आक्रमण हुने गरेको बताएकी छिन् ।

११४औँ नारी दिवसका अवसरमा शनिबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सभापति डा.राणाले राजनीति गर्ने महिलाहरूमाथि डबल अट्याक हुने गरेको बताइन् । उनले महिलाहरू राजनीतिमा सफल हुँदा परिवार, समाज, देश, मावनजातिको नै विकास हुने बताइन् ।

उनले भनिन्, ‘राजनीतिमा गएपछि धेरै गाली खाइँदो रहेछ । तपाईहरूले थाहा नै पाउनु भयो होला । धेरै अट्याटमेन्ट पनि हुँदो रहेछ ।’

‘झन् महिला हुँदा डबल अट्याक गर्दा रहेछन् । तर, हामीले सहन सक्नुपर्छ’, सभापति डा.राणाले भनिन्, ‘राजनीतिमा आउने जति पनि छन् गैँडाको छाला भएको हुनुहुन्छ होला । जति बुढो भयो त्यति गैँडाको छाला । त्यो गैँडाको छाला नकारात्मक कुरालाई मात्रै हो है फेरि ।’

उनले भनिन्, ‘सकारात्मक कुरा पनि छ । एकदमै कान पातलो भएको, राजनीति भनेको मान्छे भगवान पूजा गर्ने गणेशजी रे ! किन भने कान ठूलो भएर सबै कुरा सुन्नुपर्ने ।’

‘सबै गुण पनि राखेर महिलाको कुरा सुनेर तपाईहरू यहाँसम्म उठ्नुभयो । चुरो ठाउँमा लैजाने राजनीति हो’, डा.राणाले भनिन् ।

‘म पनि पहिला राजनीतिज्ञ होइन । म विकासमा काम गर्थें’, उनले भनिन्, ‘म जीवनभर प्राक्टिसनर हो । महिलाहरूको आन्दोलनमा म पहिलादेखि लागेको भएर मैले आफूले सिकेको कुरा यो संविधानमा लेख्नुपर्छ भनेर हामी गएका छौँ ।’

सभापति डा.राणाले भनिन्, ‘धेरै हदसम्म हामी सक्सेसफुल भयौँ । संविधानमा लेख्यौँ । अहिले पनि नियम कानून बनाउनुपर्ने, गाइडलाइन्स, त्यसैअनुसारको बजेट, अझै पनि हाम्रो बीचमा आएको छैन ।’

‘संघीयतामा गयौँ । मलाई खुसी लागेको छ । महिला मेयरहरूसँग भेट गर्दा खुसी लाग्छ’, उनले भनिन् ।

डा.राणाले भनिन्, ‘आधा आकाश ढाक्ने महिलालाई अवसर दिनुभएन भने समाज कसरी अगाडि बढ्छ ? पुरुषहरूले महिलालाई अवसर दिने व्यक्ति पनि पाएको छु । महिलालाई अगाडि बढाउन पुरुषहरूको पनि भूमिका छ ।’

‘हामी सबै रोलमोडल छौँ । सबै फिल्डमा हामी महिलाहरू अगाडि बढिरहेका छौँ’, सभापति डा.राणाले भनिन्, ‘हामी अगाडि बढ्छौँ । किन भने हामीलाई थाहा छ । हामी महिलाको जाने ठाउँ भनेको माथि मात्रै हो । हामी तल जान सोँच्दैनौँ । तल जानु पनि छैन ।’

‘हामी माथि गयौँ भने हाम्रो परिवार, हाम्रो समाज, हाम्रो देश, सम्पूर्ण मानवजाति नै अगाडि बढ्छ’, सभापति डा.राणाले भनिन् ।

Published : Saturday, 2024 March 9, 3:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया