बुटवल लैजाने भनेर महिलालाई बिहारमा बन्धक बनाउने राई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरो, बबरमहलले २५ वर्षीय जीवन भन्ने रिकमन राईलाई पक्राउ गरेको छ ।

नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ घर भएका राईलाई प्रहरी वृत्त कालीमाटीले फागुन २२ गते मंगलबार पक्राउ गरेको व्यूरोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राईलाई काठमाडौं जिल्ला अदालतमा पेश गरी सात दिन म्याद थप भएको छ ।

राईले २३ वर्षीया महिलालाई बुटवलमा कपडा पसलमा रोजगारी लगाइदिने भनेर प्रलोभनमा पारेर काठमाडौंबाट बोलाइ वीरगञ्ज हुँदै भारतको मुजफ्फरपुरमा पुर्‍याइ बन्धक बनाएका थिए ।

तालिमको नाममा राईले ती महिलालाई बन्धक बनाएका थिए । ती महिलालाई उनका पतिको पहलमा नेपाल फिर्ता ल्याइएको थियो ।

घरको आर्थिक अवस्था कमजोर भएकी पीडित महिलालाई बुटवलमा मासिक ४० हजार देखि ५० हजार तलब हुने प्रलोभनमा पारेर राईले बोलाएका थिए । ती महिला माघको १० गते काठमाडौंबाट वीरगञ्ज, रक्सौल हुँदै भारतको बिहार, मुजफ्फरपुरको खपडा भन्ने ठाउँमा पुर्‍याइ कथित मोर्डन फेसन ट्रेडमार्क नामक कम्पनीमा राईले बुझाएका थिए ।

राईले कम्पनीमा काम गर्न सात दिन तालिम लिनुपर्छ भनेर महिलासँग १६ हजार लिएको अनुसन्धानबाट खुल्न आएको छ ।

तालिम दिइसकेपछि कम्पनीमा लगानी गर्नुपर्छ भनेर महिलाबाट कम्पनीमा लगानीको लागि जबरजस्ती १ लाख ८० हजार समेत लिएको खुल्न आएको विज्ञप्तिमा उल्लेख छ । ती महिलालाई थप ४ महिलालाई नेपालबाट ल्याइदिनुपर्ने भनेर होस्टलमा बन्धक बनाइएको थियो ।

महिलाले वैदेशिक रोजगारीमा रहेका पतिलाई घटनाको बारेमा जानकारी गराएपछि पतिको पहलमा नेपाल फिर्ता ल्याइएको थियो । सो घटनामा संलग्न अन्य अभियुक्तहरूलाई पनि व्यूरोले खोजी थालेको छ ।

Published : Wednesday, 2024 March 6, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया