प्यूठानका पोखरेल सामाखुशीबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले सामाखुशीबाट ३८ वर्षीय दामोदर पोखरेललाई पक्राउ गरेको छ ।

प्यूठानको झिम्रुक गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका वडा नं. १० मनमैजु बस्ने नारायणबहादुर पोखरेलको छोरा दामोदर पोखरेललाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दामोदर पोखरेलले सुवास गुरुङलाई वैदेशिक रोजगारीको लागि यू.के. पठाइदिन्छु भनेर ठगी गरेका छन् । दामोदर पोखरेलले सुवास गुरुङसँग ६ लाख रुपियाँ लाग्छ भनेर ठगी गरेको प्रहरीले जनाएको छ ।

यू.के. पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु र मासिक एक लाख रुपियाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर दुई लाख रुपियाँ रकम लिई सम्पर्क विहीन भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी टोलीले दामोदर पोखरेलको खोजतलास गर्ने क्रममा फागुन १७ गते दिउँसो १ बजेको समयमा सामाखुशीबाट पक्राउ गरेको थियो । थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ ।

Published : Saturday, 2024 March 2, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया