लम्जुङका रेशम र गंगा तथा काठमाडौंकी रोशनी पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट लमजुङको दोर्दी गाउँपालिका–७ घर भएका ३० वर्षीय रेशम गुरुङ र ३० वर्षीय गंगा गरूङलाई पक्राउ गरेको छ ।

न्यूजील्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ७० हजार रूपियाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

उनीहरूले १ जनालाई वैदेशिक रोजगारीका लागि न्यूजील्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेका थिए ।

पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं चन्डोलबाट पक्राउ गरेको हो । उनीहरु लम्जुङ जिल्लामा घर भए पनि काठमाडौं महानगरपालिका–४ चन्डोलमा बस्दै आएका थिए ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

उता, कतार पठाइदिन्छु भन्दै २ लाख ७० हजार रूपियाँ ठगी गरेको अभियोगमा टोखा नगरपालिका–९ बस्ने ३५ वर्षीया रोशनी राणालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राणाले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

प्रहरीले राणालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ फैकाबाट पक्राउ गरेको जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Tuesday, 2024 February 27, 8:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया