ओखलढुङ्गाका दलबहादुर पक्राउ

काठमाडौं । माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले ६७ वर्षीय दलबहादुर बस्नेतलाई पक्राउ गरेको छ ।

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–७ घर भएका बस्नेतलाई बिहीबार दिउँसो प्रहरीले पर्साबाट पक्राउ गरेको जनाएको छ ।

बस्नेतले ४ जनालाई वैदेशिक रोजगारीका लागि माल्दोवा पठाई प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डमा मासिक २ लाख २० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेको अभियोग लागेको छ । पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी उनलाई पर्सा वीरगंज महानगरपालिका–१३ राधेमाईबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

उता, क्यानडा पठाइदिन्छु भन्दै २० लाख रूपियाँ ठगी गरेको अभियोगमा झापाको हल्दीबारी गाउँपालिका–१ घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ कपन बस्ने ४० वर्षीय बलराम भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भट्टराईले १ जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाई प्रतिष्ठित होटलमा मासिक ४ लाख ५० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

प्रहरीले उनलाई काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यता, अमेरिका पठाइदिन्छु भन्दै १० लाख रूपियाँ ठगी गरेको अभियोगमा नवलपरासीको बर्दघाट नगरपालिका–४ दिब्यनगर बस्ने २८ वर्षीय राजन पन्तलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पन्तले १ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७ लाख ५० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

प्रहरीले ईलाका प्रहरी कार्यालय बर्दघाटसँग समन्वय गरी उनलाई नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–४ दीब्यनगरबाट पक्राउ गरेको हो ।

यसैबीच, कतार पठाइदिन्छु भन्दै २ लाख रूपियाँ ठगी गरेको अभियोगमा सिरहाको बरियारपट्टी गाउँपालिका–४ घर भई काठमाडौंको टोखा नगरपालिका–११ बस्ने ३२ वर्षीय मोहम्मद गुलाबलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मोहम्मदले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई प्रतिष्ठित होटलमा मासिक ५० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Friday, 2024 February 23, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया