सहकारीले उत्पादनसँगै सेवामूलक क्षेत्रमा लगानी गर्नुपर्छ : कांग्रेस सह-महामन्त्री उपाध्याय

हेटौँडा । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले सहकारीले उत्पादनसँगै सेवामूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएकी छिन् ।

सोमबार हेटौँडामा दीव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र रेडियो मकवानपुरको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यायले सहकारीहरूले उत्पादन वृद्धि गर्न कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताइन् ।

उनले बाँझो खेतबारीलाई सदुपयोग गरी कृषि उत्पादनको वृद्धि गर्ने गरी युवाहरूलाई संलग्न गराउन सहकारीहरूले भूमिका खेल्नुपर्ने बताएकी छिन् ।

सह–महामन्त्री उपाध्यायले सहकारीहरूले आर्थिक क्षेत्रलाई सबल बनाउन अनुत्पादक क्षेत्रमा गरिरहेको लगानीलाई रोकेर उत्पादन वृद्धि गर्ने प्रकृतिका योजना ल्याउनुपर्ने बताएकी छिन् ।

उनले सहकारीका नाममा ठगी गर्ने समूह सक्रिय रहेको बताएकी छिन् । काठमाडौंमा रहेका अधिकांश सहकारी संस्थाहरू समस्या ग्रस्त अवस्थामा पुगेको उपाध्यायले बताएकी छिन् ।

उनले नागरिकहरूको बचतलाई ठगेर आफ्नो महल बनाउने व्यक्तिका कारण धेरै परिवारहरूको बिचल्ली भएको बताइन् ।

उनले भनेकी छिन्, ‘सहकारीले उत्पादनसँगै सेवामूलक क्षेत्रमा लगानी गर्नुपर्छ । कृषि क्षेत्रमा लगानी बढाएर बाँझा जमिनलाई प्रयोग गरेर युवाहरूलाई उत्पादन वृद्धि जोड्न सहकारीले योजना ल्याउनुपर्छ ।’

उनले भनिन्, ‘अहिले काठमाडौँका अधिकांश सहकारीहरू समस्या ग्रस्त अवस्थामा रहेका छन् । सहकारीको नाममा जनता ठगेर आफ्नो महल व्यवसाय गर्नेहरू सक्रिय भएर मोलाइरहेका छन् । सहकारीका सञ्चालकले ठगेर भागेका व्यक्तिका कारण कति परिवारका बिचल्ली भएको छ ।’

आफूले कमाएको धनलाई सही सदुपयोग गर्न र सहकारीहरूमा बचत गर्दा नागरिकहरूले सोच विचार गर्नुपर्ने उनले बताएकी छिन् ।

जीवनमा आइपरेका समस्याको समाधान गर्दै नयाँ ढङ्गबाट अघि बढाउनुपर्नेमा उनले बताइन् । धन आर्जन गर्नु मात्र समृद्धि नभएको उनको भनाई छ ।

उनले भनिन्, ‘गलत ठाउँमा आफ्नो दु:खको पैसा डुबाउन हुँदैन । आफूले आर्जन गरेको धनलाई बचतका माध्यमबाट सही ठाउँमा र संस्थामा लगानी गर्नुपर्छ ।’

‘पैसा कमाउनु मात्र जीवनको समृद्धि होइन । पैसा मात्र कमाउने धन्दा गर्नेहरूको हालत आज के भइरहेको छ ? त्यो हामीले देखिरहेका छौँ’, उनले भनिन्, ‘पैसाभन्दा पनि सेवा र समाजलाई सकारात्मक दिशामा अग्रसर गराउन युवाहरूलाई प्रेरित गर्नुपर्छ ।’

Published : Monday, 2024 February 5, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया