मन्दिरालाई सीआईबीले बनेपामा पक्राउ गरेर काठमाडौं ल्यायो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंकिङ् कसूर मुद्दामा फरार प्रतिवादी काभ्रेपलाञ्चोक जिल्लाकी ४५ वर्षीया मन्दिरा केसी (कार्की)लाई पक्राउ गरेको छ ।

फरार रहेकी मन्दिरालाई व्यूरोको टोलीले बनेपाबाट शनिबार पक्राउ गरेर काठमाडौं ल्याएको हो । मन्दिरालाई प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।

पुनरावेदन अदालत पाटनले मन्दिरालाई ३ वर्ष कैद र ४ करोड रुपियाँ जरिवाना हुने ठहर गरेको थियो ।

उच्च अदालत पाटनबाट भएको सजाय वेरुजू भई फरार रहेकी मन्दिरालाई व्यूरोको टोलीले पक्राउ गरेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले वादी नेपाल सरकार भएको क्यापिटल मर्चेन्ट तथा फाइनान्स कंपनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी प्रतिवादी मन्दिरा सञ्चालक रहेको घराना डेभलपर्स प्रा.लि.लाई ऋणी बनाई सोही प्रा.लि.का नाममा दर्ता रहको जिल्ला भक्तपुर साविक चाँगुनारायण गा.वि.स. वडा नं. ७ र ९ स्थित जग्गाहरु धितो राखेर प्राप्त गरेको कर्जा तोकिएको परियोजनामा लगानी नगरी दुरुपयोग गरेको भन्ने बैंकिङ कसूर मुद्दामा साविक पुनरावेदन अदालत पाटनको मिति २०७१/०१/२९ गतेको फैसलाले जिल्ला काभ्रेपलान्चोक, बनेपा न.पा. साविक वडा नं. ११ को परिवर्तित वडा नं. ६ बस्ने घराना डेभलपर्स प्रा.लि.का सञ्चालक प्रतिवादी मन्दिरालाई कैद र जरिवाना हुने ठहर भएको थियो ।

Published : Sunday, 2024 February 4, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया