रसिया प्रकरणमा सरोज थापा पक्राउ

काठमाडौं । रसिया पठाईदिन्छु भनेर रकम ठगी गरेको अभियोगमा प्रहरीले २८ वर्षीय सरोज थापालाई पक्राउ गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. १० बस्दै आएका भानसिंह थापाको छोरा सरोज थापालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरोज थापाले मोहन साउँदलाई वैदेशिक रोजगारीको लागि रसिया पठाईदिन्छु भनेर रकम ठगी गरेका थिए ।

सरोज थापाले मोहन साउदलाई सात लाख तीस हजार रुपियाँ लाग्छ भनेर सो रकम लिएर फरार भएका थिए । रसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रुपियाँ तलब हुन्छ भनेर विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

प्रहरीको टोलीले सरोज थापालाई खोजतलास गर्ने क्रममा माघको ३ गते साँझ ६ बजेको कीर्तिपुरको पाँगा दोबाटोबाट पक्राउ गरेको थियो ।

सरोज थापालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ ।

Published : Thursday, 2024 January 18, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया