सीआईबीले २१ वर्षपछि दवाडीलाई भारतबाट पक्राउ गरेर ल्यायो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सर्वश्वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादीलाई २१ वर्षपछि भारतमा पक्राउ गरेर नेपाल ल्याएको छ ।

कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वश्वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी धादिङको ज्वालामुखी गाउँपालिका–१ बस्ने ७० वर्षीय सूर्यबहादुर दवाडीलाई २१ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको सीआईबीले विज्ञप्तिमार्फत जनाएको छ ।

२०५९ फागुन २८ गते ज्वालामुखी गाउँपालिका–१ स्थित घर बारीमा सूर्यबहादुर दवाडीले अंश सम्बन्धी विषयमा झगडा हुँदा आफ्नै श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटीमा कसेर हत्या गरेका थिए ।

कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत धादिङको २०६१ जेठ ५ गतेको फैसलाले सर्वश्वसहित जन्मकैद ठहर भएका फरार प्रतिवादी दवाडीलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदातल काठमाडौंमा दाखिला गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार जगनाथदेवल पठाइएको छ ।

स्रोतका अनुसार दवाडीलाई भारतीय प्रहरीको सहयोगमा भारतमा पक्राउ गरेर बेलहिया ल्याएर नेपाल प्रहरीको सीआईबीलाई बुझाएको थियो । दवाडी भारतमा लुकेर बस्दै आएका थिए ।

Published : Tuesday, 2024 January 16, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया