महाबौद्धबाट दुई जना पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ ।

बिहीबार साँझ प्रहरीले पक्राउ काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका–५ घर भई काठमाडौंको कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवनको राप्ती नगरपालिका–४ घर भई काठमाडौंको सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतमलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौं महानगरपालिका–२२ महाबौद्ध एरियामा भीमसेन गौतम समेतका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डीमार्फत बित्तीय कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई काठमाडौं महाबौद्धबाट पक्राउ गरेको हो ।

भीमसेनको साथबाट नगद ८ लाख रूपियाँ, राजु गौतमको महाबौद्धस्थित राधाकृष्ण जनरल स्टोरबाट नगद ५ लाख ७५ हजार रूपियाँ र ७ लाख ९७ हजार रूपियाँ उल्लेखित विभिन्न बैंक तथा सहकारीहरूको १७ वटा चेक समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Published : Monday, 2024 January 15, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया