जोशीको लाखौँ रुपियाँ जफत

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा पंकज जोशीलाई २ करोड ६ लाख ३१ हजार रुपियाँ जरिवाना ठहर गरेको छ ।

जोशीको खातामा रहेको मौज्दात ७७ लाख रुपियाँ जफत हुने गरी सम्पत्ति शुद्धीकरणको मुद्दा ठहर गरेको हो ।

बुधबार विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायणसिंह राई, रितेन्द्र थापाको इजलासले सम्पत्ति शुद्धीकरण गरेको फैसला गरेको छ ।

जोशीले संयुक्त राज्य अमेरिकामा एक नागरिकलाई परेको चिट्टा आफूलाई परेको दाबी गरेर रकम लिएका थिए ।

जोशीले अमेरिकाको जेपी मोर्गन चेज बैंकबाट नेपालको बैंक अफ काठमाडौंमा ट्रान्सफर गरी डलर पठाएका थिए । त्यसपछि अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले सम्पत्ति शुद्धीकरण विभागमा पत्र पठाएको थियो ।

विभागले अनुसन्धान गरेको थियो । विभागले अनुसन्धान गरी जोशीले सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा ४ को खण्ड ‘ग’ बमोजिम निषेधित ठगी गरेको ठहर गर्दै मुद्दा दर्ता गरेको थियो ।

जोशीले अमेरिकाबाट आफ्नो खातामा २ लाख ९० हजार अमेरिकी डलर जम्मा गरेका थिए । त्यस रकमबाट हुन आउने २ करोड ८ लाख ८३ हजार रुपियाँ बिगो कायम गरी जरिवाना, कैद सजायसहित माग गर्दै सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता गरेको छ ।

विभागले मुद्दा दर्ताको क्रममै जोशीको नाममा आइसीएफसी फाइनान्समा खातामा देखिएको मौज्दात रकम ७७ हजार जफतको मागदाबी गरिएको थियो । मागदाबी अनुसार विशेष अदालतले जोशीको नाममा बैंकमा रहेको रकम पनि जफत गरिदिएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले २०७७ चैत १३ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेषले पुस १७ मा कसुर ठहर गरेको थियो । पुस २५ गते विशेष अदालतले सजाय निर्धारण गरेको छ ।

Published : Thursday, 2024 January 11, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया