प्रहरीद्वारा दुई जनालाई अपहरणमुक्त, अभियुक्तहरू पक्राउ

काठमाडौं । प्रहरीले चितवनका दुई जनालाई अपहरणमुक्त गराएको छ ।

पुस ७ गते रौतहटको चन्द्रपुरका लागि हिँडेका चितवनका कृष्ण थापा र दीपेन्द्र महत अपहरणमा परेका थिए ।

थापाले अपहरणमा परेपछि श्रीमतीलाई फेसबुक मेसेन्जरमा फोन गरेर आफूहरू जानकारी गराएको प्रहरीले जनाएको छ ।

अपहरणकारीले ६ लाख फिरौती मागेको समेत उनले श्रीमतीलाई बताएका थिए । सूचना पाएपछि भारतको सीमावर्ती इलाकामा प्रहरी परिचालन गरिएको थियो ।

प्रहरीले सीमा क्षेत्रमा खटिएका भारतीय प्रहरीसँग समन्वयसमेत गरेको थियो । भारतीय प्रहरीले नै उनीहरूलाई अपहरणमुक्त गरेको थियो ।

भारतको सीतामढी डुमरा थानाबाट खटिएको टोलीले थापा र महतलाई सीतामढीबाट सकुशल उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

दुवै जनाको स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइएको उनले बताए । अपहरणमा संलग्न ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मो. अकबर, मो. नइम, कौसर अली, मो. सदाव, मो. इरसाद र रामनरेश कुमार छन् ।

भारतको सीतामढी प्रहरीले अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान अगाडि बढाएको नेपाल प्रहरीले जनाएको छ ।

Published : Wednesday, 2023 December 27, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया