विदेश भागेका उपाध्यायलाई प्रहरीले कठालो समातेर काठमाडौं ल्यायो

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्तिलाई नेपाल प्रहरीले युएईबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका सर्लाहीको साबिक जानकीनगर गाविस–७ का कोमलराज उपाध्याय पक्राउ परेको प्रहरीद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

एनसीबी अबुधावीको समन्वयमा दुबईको यूएईमा पक्राउ परेका उपाध्यायलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको छ ।

उपाध्याय समेत संचालक रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी खालिद बिन अल वालेद रोड अलराफ दुबईमार्फत ठगी गर्दै आएका थिए ।

यूएईस्थित दुबईमा आर्म्स गार्ड, डीपीएस सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई भिजिट भिसामार्फत दुबई बोलाएर उनीहरूले ठगी गरेका थिए ।

रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर, भने बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितहरूले उपाध्यायविरूद्ध जाहेरी दरखास्त दिएका थिए ।

प्रतिवादीहरूविरूद्ध नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोमा ठगी सम्बन्धि कसूरमा मुद्दा दर्ता भई अन्तर्राष्ट्रियस्तरमा खोजतलास भएको थियो ।

उपाध्यायलाई पक्राउको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको थियो ।

Published : Saturday, 2023 December 16, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया