मीनभवनको टोलीद्वारा भक्तपुरमा हतियारसहित २ जना टोले गुण्डा पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरबाट हतियार र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

सूर्यविनायक नगरपालिका–१० नलिन्चोकबाट अवैध हतियार र लागूऔषधसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

उनीहरूबाट १ थान पेस्तोल, त्यसमा लाग्ने गोली ५ राउण्ड, म्यागजिन २ थान, लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम बरामद भएको छ ।

पक्राउ पर्नेहरूमा इलामको इलाम नगरपालिका–१ बस्ने ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका–२ बस्ने ३१ वर्षीय लेखबहादुर कार्की रहेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूलाई ५ राउण्ड गोली र म्यागजीनसहितको पेस्तोल र लागु औषधसहित पक्राउ गरेको
विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई लागूऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसूरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत, जगाती, भक्तपुरमा पठाइएको छ ।

Published : Friday, 2023 December 15, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया