ज्यान जाने गरी भएको बारा घटनाको छानविन गर्न कांग्रेसद्वारा माग

काठमाडौं । नेपाली कांग्रेसले बारा जिल्लामा एक जनाको ज्यान जाने गरेर भएको घटनाप्रति गम्भीरता देखाएको छ ।

शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले बारा घटनाको छानविन गरेर दोषीलाई कारबाहीको माग गरेको छ ।

बाराको सिम्रौनगढ नगरपालिकाका ३२ वटा सामुदायिक तथा धार्मिक विद्यालयका १९० जना शिक्षकहरुले ६ महिनादेखि पारिश्रमिक नपाएको विषयलाई लिएर सिम्रौनगढ नगरपालिकाको मुख्य द्वारमा विगत दुई महिनादेखि धर्ना बसेका शिक्षकहरूमाथि मंसिर २७ गते सुरक्षाकर्मीले हस्तक्षेप गरेको थियो ।

सुरक्षाकर्मीले गोली चलाउँदा सिम्रौनगढ नगरपालिका वडा नं. १ नन्सगरा ढाट बस्ने लक्ष्मी मुखिया विनको घटनास्थलमै मृत्यु भएको छ ।

वडा नं. ४ का आविद अन्सारी, राजेश सहनी र राम निवास राम गम्भीर घाइते भएको भन्दै कांग्रेसले चिन्ता जनाएको छ ।

‘शान्तिपूर्ण रुपमा धर्नामा बसेका शिक्षकहरूमाथि सुरक्षाकर्मीबाट भएको निर्मम दमनको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ’, कांग्रेसले भनेको छ ।

उक्त घटनाको यथार्थ छानविन गरी दोषीलाई कडाभन्दा कडा कार्वाही गर्न, मृतकको परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था गर्न कांग्रेसले सरकारसंग माग गरेको छ ।

Published : Friday, 2023 December 15, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया