मीनभवनका एसएसपी राठौरको टिमलाई पावरफुल सफलता, काठमाडौं उपत्यकाभित्र हलचल

काठमाडौं । नक्कली कागजातका आधारमा विदेश पठाई मानव तस्करीमा सघाउने व्यक्तिहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले पक्राउ गरेको छ ।

सेटिङमा भिजिट भिषामा विदेश पठाई मानव तस्करीमा सघाएको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) सोमेन्द्रसिंह राठौरले बताएका छन् ।

पक्राउ पर्नेहरूमा रुकुमको सानीभेरी गाउँपालिका–१० का ३८ वर्षीय नरबीर खड्का, सर्लाहीको विष्णु गाउँपालिका–६ का ३१ वर्षीय अरविन्द्र यादव, झापाको कमलादी गाउँपालिका–२ का ४२ वर्षीय होम पोखरेल रहेका छन् ।

महोत्तरीको जलेश्वर नगरपालिका–२ का ३० वर्षीय मनुराज चौधरी, स्याङ्जाको चापाकोट नगरपालिका–१० का ३६ वर्षीय रामप्रसाद भण्डारी, गुल्मीको सत्यवती गाउँपालिका–५ का ३४ वर्षीय दिनेश ज्ञावली, सिरहाको मिर्चैया नगरपालिका–१२ का २७ वर्षीय सरोजकुमार यादव, मोरङको उर्लाबारी नगरपालिका–५ का ५१ वर्षीय देवराज खनाललाई पनि पक्राउ गरिएको विज्ञप्तिमार्फत प्रहरीले जनाएको छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ का ३५ वर्षीय गणेश पाण्डे, सिन्धुपाल्चोकको लिसंखुपाखा–७ का ३० वर्षीय संजय तामाङ, काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने ५३ वर्षीय राजकिशोर शाह र स्याङजाको वालिङ गाउँपालिका–६ का २५ वर्षीय रविन अर्याल पनि पक्राउ परेका छन् ।

भिजिट भिषामा विदेश जान लागेका युवा युवतीका शंकास्पद कागजात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएपछि प्रहरीले अप्रेशन गरेको थियो ।

अनुसन्धानको क्रममा एजेन्ट, कन्सलटेन्सी, ट्राभल एजेन्सीहरूले एयरलाइन्सलाई प्रतिव्यक्ति १० देखि १५ हजार र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजार सेटिङ मिलाई पठाउने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले सेटिङमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको छ ।

उक्त कार्यालयबाट असोज १५ गतेदेखि हालसम्म १ हजार ५१३ थान शंकास्पद कागजात आएकामध्ये कक्षा १२ को सर्टिफिकेट, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेण्ट गरी २ सय ४६ थान कागजात नक्कली देखिएको थियो ।

उनीहरूलाई लिखत सम्बन्धी कसूर समेतका अपराधमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि विभिन्न प्रहरी कार्यालयमा पठाइएको छ ।

Published : Friday, 2023 December 15, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया