बैतडीमा छिमेकी र चितवनमा आफ्नै बुबाको हत्या गर्नेहरू पक्राउ

सुर्नया । बैतडी जिल्लामा छिमेकीको हत्या गरेको अभियोगमा प्रहरीले २९ वर्षीय तेजबहादुर चन्दलाई पक्राउ गरेको छ ।

सुर्नया गाउँपालिका–३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

चन्दले फलामको रडले टाउकोमा प्रहार गर्दा हरिना बिष्टको घटनास्थलमा नै मृत्यु भएको थियो ।

हत्याको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी, ईलाका प्रहरी कार्यालय पाटन र अस्थायी प्रहरी पोष्ट सतबाँजबाट खटिएको प्रहरी टोलीले चन्दलाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।

उता, चितवनमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले २१ वर्षीय सुनिल चेपाङलाई पक्राउ गरेको छ ।

आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका–३ चुम्लिङटार बस्ने सुनिललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुनिलले सामान्य बादबिबाद हुँदा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले सुनिललाई पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 December 13, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया