गोरखाकी २७ वर्षीया कविता काठमाडौंमा पक्राउ

काठमाडौ । मानव बेचबिखन गरेको अभियोगमा गोरखाकी २७ वर्षीया कविता गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।

धार्चे गाउँपालिका–४ बस्ने गुरूङलाई काठमाडौंबाट आइतबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

उनले थाईल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाईपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जना पीडितहरूलाई झुक्याई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्‍याई बन्धक बनाई दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाई मानव बेचबिखन गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गुरुङले प्रलोभन पारी पीडितहरूबाट जनही २ लाख ६० हजार रुपियाँका दरले पैसा लिई म्यान्मार पठाएकी थिइन् ।

थाईलैण्ड भन्दै झुक्याई म्यानमारको म्यावडी पुर्‍याएर अमेरिकी नागरिकलाई निश्चित अवधिमा अनलाइनमार्फत बिटकोइन लगायतका भर्चुअल करेन्सीमा लगानी गर्न तयार पार्नुपर्ने र तार्गेट पूरा गर्न नसकेमा कुटपिट गर्ने, इलेकट्रिक सक लगाउने जस्ता शारिरीक मानसिक यातना दिने गरेको तथा ९ महिनापछि नेपाल फर्कन म्यानमारस्थित कम्पनीलाई ८ लाख रुपियाँ तिर्न बाध्य बनाएको अनुसन्धानबाट खुल्न आएको छ ।

गुरुङ उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Monday, 2023 December 11, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया