लुम्बिनीमा नेपाल–भारत साँस्कृतिक उत्सव, भारतलाई सीता, चीनलाई भृकुटी दिएका छाैँ

लुम्बिनी । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेको बताएका छन् ।

नेपालका लागि भारतीय राजदूतावसाले लुम्बिनीमा शुक्रबार आयोजना गरेको भारत–नेपाल साँस्कृतिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले आर्थिक रुपमा सबल रहेका दुई छिमेकी देशसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेकाले आफूहरू पक्की पुल बन्न चाहेको बताए ।

‘यो देश गौतबुद्ध र सगरमाथाको हो, यो देश सीताको पनि हो, भृकुटीको पनि हो । हाम्रो चेली भृकुटी चीनतर्फ गइन्, सीता छिमेकी भारततर्फ गइन्, त्यसैले हाम्रो सम्बन्ध आजको होइन, इतिहासदेखिको हो’, मन्त्री किराँतीले भने ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको उपस्थितिमा भएको कार्यक्रमा मन्त्री किराँतीले लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका विषयमा भारत सकरात्मक नभएको तर्फ संकेत गर्दै हवाई रुटमा पुर्नविचार गर्न आग्रह गरेका छन् ।

‘नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने हवाई रुटका सन्दर्भममा महामहिममार्फत फेरि नेपाली जनताको तर्फबाट आग्रह गर्दछु, पुर्नविचार गरियोस्, सम्बन्धित निकायमा पुगोस् हाम्रो अपेक्षा छ’, उनले भने ।

किराँतीले भारतीय दूतावसले लुम्बिनीमा गरेको साँस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध थप प्रगाण र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण बनेको बताएका छन् ।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले लुम्बिनीको पर्यटनमा साँस्कृतिक कार्यक्रमले एउटा इट्टा थप गरेको बताए ।

भारतसँग नेपालको सम्बन्ध राम र सीताको पालादेखि जोडिएको बताए । साँस्कृतिक रुपमा नेपाल र भारत एकअर्काबीच इतिहासदेखि नै जोडिएको बताए ।

‘रामको मात्रै कुरा गर्दा भारत अपुरो हुन्छ, सीताको मात्रै कुरा गर्दा नेपाल अपुरो हुन्छ’, किराँतीले भने, ‘बुद्धजन्मस्थल लुम्बिनीको मात्रै कुरा गर्दा नेपाल अपुरो हुन्छ, महापरी निर्वाण र ज्ञान प्राप्तिको मात्रै कुरा गर्दा भारत अपुरो हुन्छ ।’

भारतको काशी नपुग्दा नेपालीहरूको तीर्थयात्रा अधुरो र भारतीयहरू पशुपतिनाथ र मुक्तिनाथ नआउँदा अधुरो हुने गरेको मन्त्री किराँतीले बताए ।

किराँतीले जलवायु परिवर्तन विश्वको साझा चुनौत बनेकाले हिमालय क्षेत्रमा देखा परेको पर्यावरणीय संकट जोगाउनतर्फ भारत सरकारले सहयोग गर्नुपर्ने बताए ।

उनले भारतीय सेनामा कार्यरत नेपाली सेनाका कारणले सम्बन्ध चिनि र पानीजस्तै गुलियो रहेको बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पूर्वमन्त्रीहरू हृदयश त्रिपाठी, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे), लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, स्वास्थ्यमन्त्री राजु खनाल, सामाजिक विकासमन्त्री सीके गुप्ता, लुम्बिनीका पूर्व कृष्णध्वज खड्का, प्रदेशसभा सदस्य नीमा गिरी, नेपाली कांग्रस लुम्बिनीका सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशको योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसी, निजी क्षेत्रका उद्योग व्यवसायी लगायतका व्यक्तिहरूको महोत्सवमा उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली शास्त्रीय संगीत, थारु नृत्य र अन्य विभिन्न साँस्कृतिक प्रस्तुति राखिएका थिए । नेपाल र भारतबीचको सम्बन्ध युगौदेखि रहेको र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उदेश्यले लुम्बिनी विकास कोषसँग सहकार्य गरेर साँस्कृतिक कार्यक्रम गरेको कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले बताए ।

साँस्कृतिक कार्यक्रमसँगै मायादेवी मन्दिर परिसरमा भारतमा रहेका बुद्धिष्ट स्थलहरूको फोटो र मण्डलाको प्रदर्शनी गरिएको थियो । मण्डलाको मन्त्री किराँतीले उद्घाटन गरेका छन् ।

कार्यक्रम लगतै विभिन्न जातीय परिकारहरू अतिथि र सहभागीहरूलाई चखाइएको थियो ।

Published : Friday, 2023 December 8, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया