नाबालिकाहरूलाई नयाँ बसपार्कतिर यौन धन्दामा सप्लाइ गर्ने तनहुँकी सपना पक्राउ

काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाएको अभियोगमा काठमाडौंको नयाँ बसपार्क बस्ने तनहुँको भीमाद घर भएकी २५ वर्षीया सपना तामाङ भन्ने पूजा रानालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ बसपार्क तथा कलंकीका विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकाहरूलाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई नयाँ बसपार्कबाट बिहीबार पक्राउ गरेको हो ।

व्यूरो र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा कार्यरत संस्था समेतको संयुक्त टोलीले कलंकीबाट १ जना र नयाँ बसपार्कबाट २ जना गरी ३ जना नाबालिकाको उद्दारसमेत गरेको छ ।

अभियुक्तले नाबालिकाहरूलाई विभिन्न काममा लगाई दिने, आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारि बोलाई आफ्नो तथा अन्य होटल र गेष्टहाउसहरूमा समेत पठाई विगत १० महिनादेखि जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पारेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

Published : Wednesday, 2023 December 6, 1:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया