बीमा कम्पनीहरूले विश्वसनीयता गुमाएका छन्, पहिला विश्वास बढाउनु पर्छ : मुख्यमन्त्री चौधरी

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा सेवाको विश्वसनीयता बढाउनुपर्ने अवस्था आएको बताएका छन् ।

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बीमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा चौधरीले बीमा सेवाको विश्वसनीयता बढे मात्रै बीमाको महत्व र आवश्यकता बढ्ने बताए । उनले बीमामा गुमीरहेको विश्वास फर्काउनुपर्ने बताए ।

उनले कोरोनापछि बीमा कम्पनीहरूको विश्वास गुम्दै गएको भन्दै अब विश्वसनीयता बढाउन सके प्रदेश सरकारले समेत आवश्यकतानुसार बीमा नीति बनाउने बताए ।

‘विश्वमा बीमाकाृ कार्यक्रम राम्रो छ’, उनले भने, ‘बीमा सुविधा प्राथामिकतामा पनि पर्छ । नेपालमा बीमा सेवाको विश्वसनीयतामा कमी छ । बीमा कम्पनीहरूले विश्वास बढाउनु जरुरी छ ।’

‘बीमा नीति आवश्यक छ’, उनले भने, ‘बीमाले त्यो विश्वास दिलाउन सक्नुपर्छ । बीमा कम्पनीहरूको गलत कार्यको नियमन प्राधिकरणले गर्नुपर्छ ।’

मुख्यमन्त्री चौधरीले भने, ‘कुरा गरेअनुसार काम गर्नुपर्छ । काम गर्न सक्ने मात्रै बीमा कम्पनीले कुरा गर्नुपर्छ ।’

कार्यक्रमका सहभागीहरूले बीमा भुक्तानीमा समस्या र झन्झेट हुने गरेकाले भुक्तानीमा सहजता ल्याउन सुझाव दिएका छन् ।

उनीहरूले कोरोना बीमाको रकम अहिलेसम्ममा पनि भुक्तानी नभएको गुनासो गरेका छन् ।

कृषिमा बाली बीमा गर्नुपर्ने, पूर्वाधारको बीमा गर्दा सहज हुनु पर्ने र जीवन बीमामा भुक्तानीमा छिटो छरितो गरिनुपर्ने सुझाव सहभागीहरूले दिएका छन् ।

स्वास्थ्यमन्त्री राजु खनाल, भौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरी, अर्थमन्त्री धनबहादुर मास्की, योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसी, प्रमुख सचिव राधिका अर्याल लगायतले बीमा कार्यक्रमलाई विश्वश्नीय बनाउन बीमा कम्पनीहरूलाई सुझाव दिएका छन् ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिग्देल मुख्यमन्त्री चौधरीसहितका सहभागीले दिएका सुझावलाई कार्यान्वयनका लागि पहल गर्ने बताएका छन् ।

Published : Tuesday, 2023 December 5, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया