काठमाडौंबाट खटिएको प्रहरी टोलीले बास्कोटालाई बाराबाट उठायो

काठमाडौं । प्रहरीले २५ वर्षीय दीपेश बास्कोटालाई बारामा पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. १ बस्ने बास्कोटालाई वैदेशिक रोजगारीको ठगीको अभियोगमा पक्राउ गरिएको प्रहरीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बास्कोटाले बलबहादुर थापा मगर समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भनेर प्रतिव्यक्ति ८ लाख रुपियाँका दरले रकम लाग्ने जनाएका थिए ।

सर्बिया पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङको काम लगाइदिन्छु भन्दै बास्कोटाले मासिक १ लाख रुपियाँ तलब हुन्छ भनेर विश्वास दिलाई प्रलोभनमा पारेका थिए ।

पीडितहरूबाट पटक–पटक गरी बास्कोटाले सत्र लाख सत्र हजार तीन सय रुपियाँ लिई सम्पर्क विहीन भएका थिए ।

ईलाका प्रहरी कार्यालय सिमरासंग समन्वय गरी काठमाडौंबाट खटिएको प्रहरी टोलीले बास्कोटालाई मंसिर १४ गते दिउँसो साढे १ बजेको समयमा जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. १ बाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका बास्कोटालाई अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ ।

Published : Friday, 2023 December 1, 5:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया