ललितपुरबाट भवान बोहरा पक्राउ

काठमाडौं । क्रोएसियामा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर दुई लाख रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले वर्ष ४६ की भवानी बोहरालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ६ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ९ लुभु बस्ने बोहरालाई पक्राउ गरिएको प्रहरीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बोहराले बाबुराम कार्कीलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति दश लाख रुपियाँ लाग्ने भनेर प्रलोभनमा पारेको आरोप छ ।

बोहराले क्रोएसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भनेर आश्वासन दिएकी थिइन् ।

बोहराले कार्कीलाई मासिक एक लाख बीस हजार रुपियाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी दुई लाख रुपियाँ रकम लिएर सम्पर्क विहीन भएकी थिइन् ।

कार्कीले वैदेशिक रोजगार विभागमा निवेदन दिएकोमा प्रहरीले बोहराको खोजतलास गर्ने क्रममा मंसिर १५ गते बिहान ९ लुभुबाट पक्राउ गरेको थियो ।

बोहरालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाएको छ ।

Published : Friday, 2023 December 1, 4:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया