काठमाडौंको रातोपुल र एयरपोर्ट नजिकै पौडेलको रेडलाइटको धन्दा

काठमाडौं । काठमाडौंमा वेश्यावृत्तीमा लगाउने स्पा सेन्टरका संचालक ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक संखुवासभाको चिचिला गाउँपालिका–१ घर भएका पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेन्टरबाट २ नाबालिका र १ युवतीलाई प्रहरीले उद्दार गरेको जनाएको छ । स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तीमा लगाई यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।

युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेको, मसाजका साथै शारीरिक सम्पर्क राख्न दवाव दिने गरेको र पौडेलले भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाइदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

रातो पुल र एयरपोर्ट नजिकै रहेका पौडेलका २ वटा स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको खुल्न आएको छ ।

पौडेललाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2023 November 28, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया