भारतले उपहारमा दिएका मुर्रा ३ ठाउँमा पुगे, वीर्य संकलन गरिने

काठमाडौं । भारतले उपहार स्वरूप दिएका मुर्रा राँगा राष्ट्रिय पशु प्रजनन् कार्यालयमा पठाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतले उपहार स्वरूप १५ वटा मुर्रा राँगा दिएको थियो । भारतको पञ्जाबबाट ट्रकमा राखेर मुर्रा राँगाहरूलाई बुधबार राति नेपालगञ्ज ल्याइएको थियो ।

राँगालाई पशु क्वारेन्टाइन कार्यालयको होल्डिङ याडमा राखिएको थियो । शुक्रबार तीन वटा पशु प्रजनन् केन्द्रमा पुर्‍याइएको छ ।

पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जकी सूचना अधिकारी ईन्दु रेग्मीले पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ७ वटा पठाएको बताइन् ।

राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानमा ५ वटा र राष्ट्रिय पशु प्रजनन् कार्यालय गौघाट, बाँकेमा ३ वटा राँगालाई पठाइएको छ । राँगा तीन वटै स्थानका पशु प्रजनन् कार्यालयमा पुगिसकेकाले केही दिन तालिम दिइनेछ ।

तालिम पश्चात् उनीहरूको वीर्य संकलन गरिनेछ । मुर्रा राँगाको वीर्य भैँसीको कृत्रिम गर्भाधानमा प्रयोग गरिनेछ । उन्नत जातका मुर्रा राँगालाई भारतको पञ्जाबस्थित राष्ट्रिय भैँसी अनुसन्धान केन्द्रबाट ल्याइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारत सरकार र नेपाल सरकारबिच दुई पक्षीय समझदारी अन्तर्गत नस्ल सुधारका लागि मुर्रा जातको राँगा दिने भारतले प्रतिबद्धता जनाएको थियो ।

मुर्रा राँगाहरू नेपालका भैँसीहरूको दुध उत्पादन क्षमता बढाउनका लागि कृत्रिम गर्भाधान गरेर नस्ल सुधार गर्ने प्रयोजनले प्रयोग गरिनेछ ।

Published : Sunday, 2023 November 26, 11:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया