दुर्गा प्रसाईँ र युवा संघलाई लाग्यो ठूलो झट्का, अब के गर्छुन् ?
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते हुने भनिएको एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको विरोध प्रदर्शन माइतीघरमा गर्न नदिने भएको छ ।
प्रशासनले दुवै समूहलाई माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिने निर्णय गरेको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले कुनै पनि समूहलाई मंसिर ७ गते माइतीघरमा कार्यक्रम गर्न नदिइने निर्णय भएको बताएका छन् ।
आचार्यले दुवै समूहलाई बोलाएर माइतीघरमा प्रदर्शन गर्न नदिने निर्णय जानकारी गराएको बताएका छन् ।
युवा संघ र दुर्गा प्रसाईँले मंसिर ७ गते माइतीघर मण्डलामा कार्यक्रम गर्ने प्रचार गर्दै आएका छन् । दुई समूह एकै स्थानमा विरोध प्रदर्शन गर्दा सुरक्षा खतरा हुनसक्ने भन्दै प्रशासनले दुवैलाई अन्यत्र ठाउँ रोज्न भनेको छ ।
सहायक सीडीओ आचार्यले दुवै समूहका लागि विरोध प्रदर्शन गर्ने उपयुक्त स्थान तोकिने बताएका छन् । प्रशासनले तोकिएको स्थानमा मात्रै विरोध प्रदर्शन गर्नुपर्ने उनले बताए ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसमा आगामी एक महिनासम्म सो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भई कुनै खालको पनि प्रदर्शन गर्न नपाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।
एउटै मितिमा विभिन्न समूहले विरोध प्रदर्शनजस्ता कार्यक्रम आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग हुनसक्ने भन्दै प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम उक्त क्षेत्र निषेधित घोषणा गरेको छ ।
प्रशासनले पदमोदय मोडदेखि सिंहदरवार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया