काठमाडौंसहितका यी स्थानमा जुवातास खेलेको ठाउँमा प्रहरी छापा, ९० जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंसहित विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ९० जनालाई पक्राउ गरेको छ ।
प्रहरीको विज्ञप्तिअनुसार काठमाडौंबाट १७ जना, कञ्चनपुरबाट ४२ जना, सिन्धुलीबाट ४ जना, डडेलधुराबाट १३ जना,

दार्चुलाबाट ७ जना र संखुवासभाबाट ७ जना गरी जम्मा ९० जना पक्राउ परेका छन् ।

काठमाडौंको शंखरापुर नगरपालिका–१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दंगालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दंगाल समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ८ सय ३५ रुपियाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ ढुङ्गाना गाउँ बस्ने ४२ वर्षीय मधु रमालसमेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । सोही चौकीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार ८ सय ५५ रुपियाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बाँसखेडा बस्ने भीमबहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१८ बस्ने ४० वर्षीय ईन्द्र पाठक समेत २८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५८ हजार ६ सय ९४ रूपियाँ र तास २०८ पत्तीसहित पक्राउ गरेको हो । यसैगरी सोही नगरपालिका–१६ मझगाउँस्थित मनोज धानुकको मनोज रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१४ बस्ने ३८ वर्षीय दिनेश खत्री लगायत ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नगद २५ हजार ४ सय ६० रूपियाँ र तास गड्डी ५ थान सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका–६ दुम्लीस्थित गजेन्द्र रानाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय राम बहादुर राना समेत ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ४० रुपियाँ र तास १ गड्डीसहित पक्राउ गरेको हो ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–६ खाल्टे बस्ने ५० वर्षीय रामे माझीको घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय ६० रुपियाँ, १ गड्डी तास र ३३ वटा कौडा सहित पक्राउ गरेको हो ।

डडेल्धुराको अमरगढी नगरपालिका–१ मौरडास्थित धर्मराज जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय ओमप्रकाश जोशीसमेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ३ सय ७९ रुपैयाँ र तास २ सय ५२ पत्ता सहित पक्राउ गरेको हो ।

दार्चुलाको महाकाली नगरपालिका–५ गल्फै बस्ने ३२ वर्षीय केशवदत्त भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट लगायत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार ३ सय रुपियाँ र तासको गड्डी ६ थानसहित पक्राउ गरेको हो ।

संखुवासभाको चैनपुर नगरपालिका–३ तिनखोप्रे बस्ने ३६ वर्षीय हर्कमणि कटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५१ वर्षीय प्रेमबहादुर कटुवाल लगायत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ३ सय २५ रुपियाँ र १ बुक तासहित पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 November 15, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया