ऋषि धमलाको ‘काजु काण्ड’का मुख्य योजनाकार मनोज मावन तिहारभरि खोरभित्र रहेन

काठमाडौं । नेपाल प्रहरीको साइबर व्यूरो, भोटाहिटी, काठमाडौंले यूट्यबर ३६ वर्षीय मनोज मानव भन्ने मनोजकुमार महतोलाई सात दिन हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन अनुमति पाएको छ ।

बिहीबार मनोजलाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पेश गरेको थियो । अदालतले मनोजलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न व्यूरोलाई अनुमति दिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लख छ ।

‘सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा सिरहाको लहान नगरपालिका–२४ घर भई हाल काठमाडौं बस्ने ३६ वर्षीय मनोज मानव भन्ने मनोजकुमार महतोलाई बुधबार प्रहरीले पक्राउ गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

व्यूरोले भनेको छ, ‘टिकटक र फेसबुकमार्फत पीडित महिलाको तस्बिर तथा श्रव्यदृश्य सामग्री दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन समेत लेखी सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरेको भन्ने उजुरीको आधारमा साईबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा उक्त कार्यमा महतोको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।’

मनोजउपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।

मनोजले नै पत्रकार ऋषि धमला र स्वघोषित अभियन्ता एक महिलाको विवाद बाहिर ल्याएका थिए । धमला र महिलाको विवादलाई ‘काजु काण्ड’ भनेर परिचित छ । मनोजसँगको अन्तर्वार्तामा ती महिलाले धमलाले काजु खाएर यौनसम्पर्कमा उत्तेजित हुने गरेको आरोप लगाएकी छिन् ।

मनोजले व्यक्तिगत कुराहरूलाई यूट्युबमा राख्ने, व्यक्तिगत चरित्र हत्या गर्ने जस्ता हर्कत यूट्युबबाट गर्दै आएका थिए । मनोजका क्रियाकलापबाट धेरै मानिसहरू पीडित भएका थिए । मनोजका विरुद्ध प्रेस काउन्सिल नेपालमा पनि थुप्रै उजुरीहरू परेका छन् । उनका विगतका क्रियाकलाप पनि निकै विवादित छन् ।

Published : Thursday, 2023 November 9, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया