काठमाडौंमा सीआईबीद्वारा ‘पावरफुल’ मान्छे पक्राउ, उजुरीहरू माग

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक/अध्यक्ष ३९ वर्षीय रविन्द्र चौलागाईंलाई पक्राउ गरेको छ ।

सीआईबीले चौलागाईंलाई कात्तिक १६ गते पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका वडा नं. ६ स्थायी घर भएका चालागाईंलाई सीआईबीले पक्राउ गरेर कारबाही अगाडि बढाएको छ ।

चौलागाईंले देउराली सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपियाँ अपचलन गरेको अभियोग लागेको छ ।

सहकारीको रकम अपचलन गरेर फरार रहेका चालागाईंविरुद्ध पीडितहरूले सीआईबीमा उजुरी दिएका थिए ।

देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय, सातदोबाटो, ललितपुरमा रहेको छ । भक्तपुर र काठमाडौं जिल्लाभित्रका सहकारीका सेवा केन्द्रहरूका निक्षेपकर्ता सदस्यहरूले देउराली संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधी पुगीसकेपछि रकम फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरूले जाहेरी दरखास्त पेश गरेका थिए ।

उल्लेखित कसूरउपर मुद्धा दर्ता गरी व्यूरोबाट अनुसन्धान कार्य भइरहेकोले काठमाडौं र भक्तपुर जिल्लाभित्रका सेवा केन्द्रहरूमा निक्षेपकर्ता सदस्यहरूले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिहरू उपर प्रमाणसहित व्यूरोमा यथाशिघ्र रितपूर्वकको जाहेरी दिन आग्रह गरेको छ ।

देउराली सहकारीका सञ्चालक चौलागाईंका विरुद्ध वा अन्य थप सहयोग एवम् जानकारीको लागि सीआईबीले आफ्नो फोन नं. ०१–४५११७७६ मा सम्पर्क गर्न अनुरोध गरेको छ । देउराली सहकारीविरुद्ध कात्तिक २४ गतेभित्र उजुरीहरू दिन सीआईबीले आग्रह गरेको छ ।

सहकारीका सञ्चालक चालागाईंले विभिन्न शक्तिको आडमा आफूलाई बचाउँदै आएका थिए । सीआईबीले पक्राउ गरेपछि चौलागाईंको पावरले हावा खाएको छ ।

Published : Tuesday, 2023 November 7, 1:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया