देउखुरीबाट बन्दुक र गोलीगठ्ठासहित दुईजना पक्राउ

देउखुरी । दाङको देउखुरीमा प्रहरीले भरुवा बन्दुकसहित दुईजना मानिसहरूलाई पक्राउ गरेको छ ।

कात्तिक १७ गते राति साढे दश बजे गढवा गाउँपालिका वडा नं. ६ मनिकपुरस्थित बगाले बिसाउने सामुदायिक वनमा भरुवा बन्दुकसहित मानिसहरू हिँडीरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले दुईजनालाई हतियारसहित पक्राउ गरेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ४९ को दिलबहादुर राना र सोही ठाउँ बस्ने वर्ष ४५ को निमबहादुर बुढा रहेका छन् । उनीहरूले अवैध भरुवा बन्दुक बोकेर हिँडीरहेको अवस्थामा फेला पारी शरीर खानतलासी गरी साथमा भएको भरुवा बन्दुकसहित पक्राउ गरिएको थियो ।

दिलबहादुर रानाबाट बरामद भएको बन्दुक तथा अन्य सामानहरूमा फलामको गोली थान–१३, छर्रा थान– २४, बारुद ५० ग्राम, खुकुरी थान–२ र बन्दुकको केपथान– ७ रहेका छन् ।

निमबहादुर बुढाको साथबाट बरामद भएको बन्दुक तथा अन्य सामानहरूमा झोलामा राखेको फलामको गोली थान– १०, छर्रा थान–१३, बारुद ५० ग्राम, बन्दुकमा लगाउने केपथान–५ रहेका छन् ।

Published : Monday, 2023 November 6, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया