तारा एयरका दुई पाइलटबीच कुटाकुट, प्राधिकरणद्वारा दुबैलाई ग्राउण्डेड

काठमाडौं । तारा एयरका पाइलटद्वय सञ्जीव श्रेष्ठ र सन्तोष साहबीच कुटाकुट भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुबैलाई ग्राउण्डेड गरेको छ ।

शुक्रबार बिहान रामेछाप विमानस्थलमा श्रेष्ठ र साहबीच कुटाकुट भएको रामेछाप विमानस्थलका प्रमुख अशोक थापाले स्थानीय पत्रकारहरूलाई बताएका छन् । वरिष्ठ क्याप्टन साहले टुइनअटर जहाज लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका थिए । साहलाई मन्थलीमा ग्राउण्डेड गरिएको छ । जहाज लिएर लुक्ला उडेका क्याप्टन श्रेष्ठलाई लुक्लामै ग्राउण्डेड गरिएको छ ।

क्याप्टेन श्रेष्ठले साहलाई हातमिलाउने क्रममा धकेलेपछि कुटाकुट भएको थियो । उनीहरूका बीच एप्रोनमा कुटाकुट भएको बुझिएको छ । कुटाकुटको कारण खुलेको छैन । प्राधिकरणले घटनाको बारेमा आन्तरिक छानविन शुरु गरेको छ ।

शुक्रबार बिहान ८ बजे लुक्लाबाट आएको जहाजका क्याप्टेन सन्तोष साह र रामेछापबाट सोही जहाज लिएर लुक्ला जाने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच झगडा परेको प्राधिकरणका कर्मचारीहरूले बताएका छन् ।

कुटाकुट भएपछि क्याप्टेन साहको हातमा चोट लागेको छ । उनको मन्थली बजारमा उपचार भएको छ ।

कुटपिटमा संलग्न क्याप्टन श्रेष्ठसँग प्राधिकरण निकै क्रुद्ध बनेको छ । प्राधिकरणले क्याप्टेन श्रेष्ठको पाइलट इजाजतपत्र खारेज गर्नेसम्मको तयारी गरेको छ ।

Published : Friday, 2023 November 3, 10:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया