आठौं आयुर्वेद दिवसबारे काठमाडौंमा विशेष उत्सव

काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले आठौं आयुर्वेद दिवसको उत्सव परम्परागत चिकित्सा विशेष गरी आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे छलफल कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल चेम्बर अफकमर्स र नेपाल आयुष उद्योगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेद लगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यबारे चर्चा गरेका छन् । उनले ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदान प्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रवर्द्धन गर्न चालिएका विविध पहलबारे जानकारी गराए ।

उनले यस वर्षको आयुर्वेद दिवसमा मनाइने उत्सव भारतको अध्यक्षतामा सम्पन्न जी–२० सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम’सँग मेल खाने बताए ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यता प्राप्त प्रणाली भएको उल्लेख गरे ।

नेपाल सरकारले आयुर्वेदको प्रवर्द्धनका लागि लिएको पहलबारे उनले प्रकाश पारेका छन् ।

डाबर नेपालका व्यवसाय प्रमुख हरकिरतसिंह वेदीले उद्योगको धारणा व्यक्त गर्दै कसरी डाबरले नेपालबाट जडीबुटी संकलन गर्न आपूर्ति श्रृंखलाको विकास गरेको र त्यसले स्थानीय समुदायका लागि दिगो जडीबुटी खेती गर्ने अवसरहरू प्रदान गरेको छ त्यसबारे जानकारी गराए ।

चिकित्सकको धारणा प्रस्तुत गर्ने क्रममा नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्साको प्रमुख अंग भएको बताए । उनले नेपालमा आयुर्वेद चिकित्साको समृद्ध इतिहासबारे जानकारी गराएका छन् ।

भारत सरकार, आयुष मन्त्रालयले सन् २०१६ देखि हरेक वर्ष धनवन्तरी जयन्ती (धन्तेरस)मा आयुर्वेद दिवस मनाउँदै आएको छ ।

सन् २०२३ नोभेम्बर १० मा मनाइने आठौं आयुर्वेद दिवसको नारा ‘एक स्वास्थ्यका लागि आयुर्वेद–हरेकका लागि हरेक दिन आयुर्वेद’ रहेको छ ।

Published : Thursday, 2023 November 2, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया