कराँतेका प्रशिक्षकद्वय सुवेदी र राउत बलात्कारमा दोषी ठहर

विराटनगर । कराँतेका दुईजना प्रशिक्षकहरू सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् ।

बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकद्वय अमर सुवेदी ‘सुरज’ र विनोद राउतलाई दोषी ठहर गरेको हो ।

सुवेदीको घर विराटनगर महानगरपालिका–४ मा पर्छ । राउतको घर विराटनगर–३ रहेको छ । सजाय निर्धारणको समय आगामी कात्तिक २२ गतेलाई तोकिएको छ ।

जबरजस्ती करणी मुद्दा चलाइएका दुवै जनालाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको थियो । सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षक थिए ।

विराटनगरकै एउटा होटलमा लगेर २०७९ जेठ अन्तिम साता आफूमाथि सामूहिक बलात्कार गरेको भन्दै सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत छात्राले उनीहरूविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर दुवै जनालाई अनुसन्धानको दायरामा ल्याएको थियो ।

Published : Thursday, 2023 November 2, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया