काठमाडौंमा हतियार बरामद, २ जना पक्राउ, ५ वर्ष जेल बसेर छुटेका पनि पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट अवैध हातहतियार र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पेस्तोल १ थान, गोली ३ राउण्ड र अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ग्राम, डिजिटल तराजु १ थान र नगद ५० हजार रूपियाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको कागेश्वरी मनोहरा मूलपानी बस्ने भारतको वेष्ट बंगाल नक्सलबारी ठेगाना भएका ४८ वर्षीय मोहमद करिम र झापाको कचनकवल गाउँपालिका–७ ठेगाना भएका ३७ वर्षीय हर्कबहादुर लिम्बु रहेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापामारेको थियो ।

प्रहरीलाई लक्षित गरी लागूऔषध कारोवारीले पेस्तोलबाट फायर गर्न लाग्दा प्रहरीको तर्फबाट जवाफी कारवाहीमा मोहमद करिम घाइते भएका थिए ।

करिमलाई तत्काल उपचारको लागि मदर ल्याण्ड अस्पताल पेप्सिकोलामा लगिएको र घटनामा संलग्न हर्कबहादुर समेतलाई प्रहरीलेपक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका हर्कबहादुर २०७४ चैत २९ गते मानव वेचविखन मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको खुल्न आएको छ ।

Published : Thursday, 2023 November 2, 4:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया