राधाको ठूलो करामत, सूचना संकलन र हत्याको मुख्य योजनाकार, सुटरहरूको प्रयोग

बारा, १५ कात्तिक । कलैया उप–महानगरपालिका–६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका संचालक तथा प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश स्वर्णकारको गोली प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कलैया उप–महानगरपालिका–६ मदर्शा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर, कलैया उप–महानगरपालिका–९ रामपुर बस्ने २६ वर्षीय रियाज अंसारी, भारतको मोतीहारी पूर्वी चम्पारणथाना घोडासहनगाउँ जागिराकोटी बस्ने २३ वर्षीय चन्दन कुमार र मोतीहारी पूर्वी चम्पारणथाना घोडासहनगाउँ बहार्वाकाला–१२ बस्ने २३ वर्षीय अभिनवकुमार राजपुत रहेका छन् ।

मदर्शा टोलमा गोली प्रहारबाट सोमबार दिउँसो गम्भीर घाइते भएका रूपेशको नारायणी मेडिसिटी बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनास्थलबाट ४ थान गोलीको खोका बरामद भएको थियो ।

उनीहरूमध्ये राधा गुप्ता मुख्य योजनाकार र सूचना आदानप्रदान कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

जामिल अख्तर र रियाज अंसारी सहयोगी तथा चन्दन कुमार र अभिनवकुमार राजपुत सुटर ग्याङको सदस्य रहेको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको छ । त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

विवाहेत्तर प्रेम सम्बन्ध एवम् रिसइवीको कारण उक्त घटना भएको समेत खुल्न आएको छ ।

भारतको मोतीहारी दर्पा थाना–१ सुक्लहिया बस्ने २५ वर्षीय सुजितकुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनीषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी गोली प्रहार गर्न संलग्न रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Published : Wednesday, 2023 November 1, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया