महासचिव गुटेरेसद्वारा गौतमबुद्ध जन्मस्थल लुम्बिनीको दर्शन, शान्तिका लागि अपील
लुम्बिनी । संयुक्त राष्ट्रसंघका महासचिवका एन्टोनियो गुटेरेसले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको दर्शन गरेका छन् ।
मंगलबार बिहान गटेरेसले मायादेवीको मुख्यमन्त्रीको पनि दर्शन गरेका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा लगायतले लुम्बिनीमा स्वागत गरेका छन् ।
गुटेरेसले लुम्बिनीमा करीव २ घण्टा बिताएका छन् । लुम्बिनीको अशोक स्तम्भ परिषरबाट उनले लुम्बिनीको विषयमा सम्बोधन गरेको उपाध्यक्ष डा.लामाले बताएका छन् ।
गुटेरेस राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनी भ्रमणमा आउने छैटौं महासचिव हुन् । यसअघि राष्ट्रसंघको महासचिवका रुपमा ड्याग हृयामरकेजोल्ड, ऊ थान्त, ज्याभियर पेरेज डी कुइलर, कर्ट वाइल्डहाइम र बानकी मुनले लुम्बिनीको भ्रमण गरेका थिए । गुटेरेस सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि नेपाल भ्रमणमा पहिलोपटक आएका हुन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामाले १५ वर्षपछि नेपाल भ्रमणमा आएका राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमण लुम्बिनी क्षेत्रकै पहिचान र महत्वका लागि गौरवको विषय भएको बताएका छन् ।
महासचिव गुटेरेसले लुम्बिनीमा शान्ति दीप हुँदै मायादेवी मन्दिरसम्म पैदलयात्रा गर्दै दर्शन र प्रार्थना पनि गरेका छन् ।
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन् ।
अहिले युक्रेन, रसिया, इसरायल, प्लानेस्टाइन जस्ता विभिन्न मुलुकहरूमा भइरहेको युद्धबाट सम्पूर्ण विश्व नै पीडित भइरहेकोले शान्ति स्थापनाका लागि लाग्न उनले सबैलाई आग्रह गरेका हुन् ।
महासचिव गुटेरेसले मायादेवी मन्दिर अगाडिबाट सम्बोधन गर्दै युद्धग्रस्त मुलुकहरूलाई शान्तिको मार्गमा लाग्न आग्रह गरेका हुन् ।
गुटेरेसले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनीको पवित्र उद्यान अत्यन्त महत्वपूर्ण भएको बताए ।
भगवान गौतमबुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई अत्यन्त खुसी लागेको गुटेरेसले बताएका छन् ।
महासचिव गुटेरेसले पछिल्लो समय जलवायुमा देखिएको परिवर्तनको कारण विकसित राष्ट्रहरू भए पनि त्यसको प्रभाव भने नेपाल जस्ता विकासोन्मुख मुलुकहरूले भोगिरहेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महासचिव गुटेरेसलाई स्वागत गर्दै लुम्बिनी बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मात्र होइन, शान्ति र सद्भावको केन्द्र रहेको र यसले मानव जातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा प्रेरणा र मार्गदर्शन गरिरहने बताए ।
दाहालले महासचिवको लुम्बिनी भ्रमणबाट विश्वभर शान्ति र सद्भावको सन्देश प्रवाह गरेको भन्दै विश्वव्यापी महत्वको ऐतिहासिक स्थलको भ्रमणको लागि धन्यवाद व्यक्त गरेका छन् ।
दाहालले राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको भ्रमणपछि जापानी वास्तुकार केन्जो टांगेद्वारा लुम्बिनी गुरूयोजना तयार गरी सोही अनुरूप काम भइरहेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया