महिमाको हत्या प्रकरणमा सौता र पति पक्राउ

वीरगञ्ज । पर्सा जिल्लामा श्रीमतीलाई छुरा प्रहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

कात्तिक ४ गते राति ८ बजेर ४५ मिनटको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ बहुअरी बस्ने फजल करिम मियाँको छोरा वर्ष ४५ को एजहारूलहक अंसारीले आफ्नै कान्छी श्रीमती वर्ष २८ की महिमा खातुनको हत्या गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अंसारीले महिमालाई घरायसी विवादका कारण कुटपिट तथा धारिलो चक्कुले छाती र पेटमा प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

अचेत अवस्थामा उपचारको लागि वीरगञ्ज हेल्थ केयर अस्पताल वीरगञ्जमा पुर्‍याइ उपचार गराउँदा महिमाको उपचारकै क्रममा कात्तिक ५ गते बिहान दश बजेर ३० मिनटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सूचना प्राप्त हुनसाथ यस कार्यालयबाट कार्यालय प्रमुखको कमाण्डमा कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालित भएको थियो ।

घटनास्थल तथा शवको जाँच मुचुल्का, पोष्ट मार्टम समेतको कार्य गरी मृतक महिमाको शव आफन्तलाई बुझाइएको छ ।

अभियुक्त एजहारूलहक अन्सारीका दुई वटा श्रीमती रहेका छन् । कान्छी श्रीमती महिमा खातुनलाई घरायसी विवादका कारण ससुरा वर्ष ६५ को फजल करिम मियाँ, सासु आमा वर्ष ६३ की सरिफन खातुन र सौता वर्ष ३८ की नुरजहान खातुन समेतले कुटपिट गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको विज्ञप्तिमा उल्लेख छ ।

सोही क्रममा अभियुक्त एजहारूलहक अन्सारीले धारिलो हतियार छुरा प्रहार गरेका थिए ।

हत्याको घटनामा संलग्न रहेको अभियोगमा अभियुक्तहरू एजहारूलहक अंसारी र ३८ वर्षीया नुरजहान खातुनलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले फरार रहेका अन्य अभियुक्तहरूको खोजतलास जारी राखेको जनाएको छ ।

पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला अदालत पर्साबाट १२ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ ।

Published : Tuesday, 2023 October 31, 1:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया