दशैँको मौका छापेर गैरकानूनी हर्कत गर्ने २३ जनालाई पक्राउ

काठमाडौं । भक्तपुरसहित विभिन्न स्थानबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको जनाएको छ ।

दशैँको मौका छोपेर जुवातास खेल्ने समूहमाथि निगरानी बढाएको प्रहरीले विभिन्न स्थानमा धमाधम जुवाडेहरूलाई नगदसहित पक्राउ गर्दै आएको छ ।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका–३ कौशलटारस्थित ईन्द्रबहादुर श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली गोलन्जोर गाउँपालिका घर भई हाल भक्तपुर कौशलटार बस्ने ५६ वर्षीय कुमार बराल समेत १५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ४ हजार ६ सय ५० रुपियाँ र १४ बुक ताससहित पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका–६ ऐंठपुर बस्ने ४० वर्षीय पारस भट्ट समेत ८ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार १ सय १० रुपियाँ र तास १ गड्डीसहित पक्राउ गरेको छ ।

उक्त स्थानबाट मोटरसाइकल ६ थान र स्कुटर १ थान समेत प्रहरीले बरामद गरेको छ ।

Published : Monday, 2023 October 30, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया