‘अनलाइन न्यूज पोर्टल’को नाममा ब्ल्याकमेलिङ गर्ने कथित पत्रकार पक्राउ

काठमाडौं । अनलाइन, पत्रिका, टिभी, यूट्युबका नाममा ब्ल्याकमेलिङ गरेर हैरान बनाएका घटनाबारे धन्दावाल पत्रकारहरूलाई प्रेस काउन्सिल नेपालले सचेत गराएकै बेला पत्रकार हुँ भनी अफवाह फैलाउने नक्कली पत्रकारलाई पक्राउ गरेको छ ।

‘पत्रकार हुँ’ भनी पैसा माग्ने, बार्गेनिङ गर्ने, सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने जस्ता हर्कत गर्ने वर्ष २६ को रविकुमार वर्णवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रविले दर्ता नै नभएको अनलाइन न्यूज पोर्टल र फेसबुक प्रयोग गरी विभिन्न पत्रकार तथा प्रहरीको चरित्रहत्या गर्ने मनसायले झुठ्ठा, कपोकल्पित र भ्रामक विषयहरू प्रकाशन गरेको र दशैँ खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहार गरेकोले पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

रवि पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १० अशोकवाटिका निवासी हुन् । उनलाई प्रहरीले असोज २७ गते पक्राउ गरी आवश्यक कानूनी कारवाही अगाडि बढाएको बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

यसैबीच, बारामा जिल्ला प्रहरी कार्यालय बाराको नाममा रकम उठाउने व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको कलैया उप–महानगरपालिका वडा नं. १० मटिअर्वा नाकाबाट अवैध रुपमा करछली गरी एलईडी भित्र्याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एसपी र डीएसपीको नाममा तस्करसँग रकम संकलन गरेको अभियोगमा कलैया उप–महानगरपालिका वडा नं. १० मटिअर्वा वस्ने वर्ष ३७ का मनोजकुमार सहनीलाई कात्तिक १ गते बुधबार पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2023 October 20, 5:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया