अत्तरखेलमा प्रहरीले गोली हानेर घलानलाई ढाल्यो, अरु दुई जना पक्राउ

काठमाडौं । काठमाडौंमा प्रहरीले गोली हानेर सिन्धुली स्थायी घर भएका अमर घलानसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

बौद्धस्थित अत्तरखेलबाट बिहीबार गोली हानेर घलान र उनका साथीहरूलाई नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनका प्रमुख (एसएसपी) सोमेन्द्र राठौरले बताएका छन् । घलानको खुट्टामा गोली लागेको छ ।

घलानविरुद्ध विभिन्न ठाउँमा तस्करी, अवैध सुन काण्डलगायतमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

घलान र उनको समूहले पेस्तोल देखाएर सुन लगायतका सामग्री लुट्ने गतिविधि गर्दै आएपछि प्रहरीले निगरानीमा राखेको थियो ।

प्रहरीको गोली लागेर घाइते भएका घलानको अत्तरखेलको एनएमसी मेडिकलमा उपचार भइरहेको छ । घलानको साथबाट प्रहरीले मेडइन यूएसए लेखिएको लोडसहितको पेस्तोल बरामद गरेको छ।

प्रहरीले घलानसँगै सर्लाहीका ३६ वर्षीय शान्त लामा र सिन्धुपाल्चोकका ३० वर्षीय जितेन लामालाई नियन्त्रणमा लिएको छ । उनीहरूले चलाएको दुईवटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Thursday, 2023 October 12, 5:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया