अनमोल पक्राउ पर्नुभन्दा अगाडि आमासँग के कुरा भयो ?

काठमाडौं । अभिनेता अनमोल केसीकी आमा सुस्मिता बमजनले छोराको सोँझोपनाले गर्दा दु:ख पाएको टिप्पणी गरेकी छिन् ।

सुस्मिताले एउटा अन्तर्वार्तामा भनेकी छिन्, ‘मेरो छोरो साँच्चिकै सोझो छ । कसैलाई नो भन्न सक्दैन । कसैलाई नराम्रो भन्न सक्दैन । कसैको मन दुखाउँदैन । हुन्न गर्दिन भन्न सक्दैन ।’

‘हुन्छ नि दाइ हेरौंला नि भन्छ । त्यसलाई मान्छेले अर्कै हिसाबले लिन्छन् । कति ठाउँमा सोझो पनि राम्रो होइन भन्ने सम्भवत: अनमोलले सिक्यो होला’, उनले भनेकी छिन् ।

सुस्मिताले भनेकी छिन्, ‘मलाई अघिल्लो दिन नै च्याटमा उसले सुदर्शन थापाको कुरा सुनाएको थियो । मसित अनमोल र मेरो म्यासेजको स्क्रिनसट पनि छ ।’

‘एक त सुदर्शन थापा अल्कोहोलिक हो भन्ने सबैलाई थाहा छ नि । तर, फिल्मको स्क्रिप्ट सुनाउँदा त रक्सी खाएर कोही पनि आउँदैन’, उनले भनिन्, ‘अनमोलले जेन्टलम्यान भएर दाइ अँ यताउति भनेर कुरा गर्यो । स्क्रिप्ट उनीहरूको कम्प्लिट भएको थिएन ।’

उनले भनिन्, ‘अनमोलले १० लाख रुपियाँ मागेको होइन । उनीहरूले जबर्जस्ती थमाएको हो । एउटा गल्ति के भयो भने चेक लिनै नहुने थियो, उसले लिइदियो । त्यो मिस्टेक चाहिँ मान्छु । कहिलेकाहीँ जबरजस्ति गरेपछि नो पनि भन्न नमिल्ने अवस्था हुन्छ ।’

‘अहिले उनीहरूको सुटिङ गर्ने कुरा नै थिएन । ‘फर्कीफर्की’ र ‘जेर’ पछि मात्र ‘रावायण’ गर्ने कुरा भएको थियो’, सुस्मिताले भनिन्, ‘उसको बाउ (भुवन केसी)को बर्थडेमा सुदर्शन थापा पूरै झ्याप भएर नकआउट रहेछ ।’

‘अनमोलले फस्र्ट टाइम उसलाई त्यस्तो अवस्थामा देखेको । अनमोल त माछामासु, जाँडरक्सी केही पनि खाँदैन’, सुस्मिताले भनिन्, ‘अहिले चैं बल्लबल्ल फिजिकल ट्रेनरले बि १२ कम हुन्छ भनेपछि माछा खान थालेको छ ।’

उनले भनिन्, ‘उसलाई जाँड–रक्सी खाने मान्छे मनै पर्दैन । सुदर्शन थापाले रक्सी खाएर जे पायो त्यही बोल्न थालेपछि उप्रति अनमोलको इम्प्रेसन बिग्रियो ।’

‘दुई दिनपछि अनमोलले मलाई फोन गर्‍यो । त्यो दाइ रक्सी नखाँदा अर्कै मान्छे र रक्सी खाएपछि अर्कै मान्छे हुनुहुँदो रहेछ’, उनले भनिन्, ‘मलाई त अर्को छड्के ३ बनाउने हो कि भन्ने डर लाग्यो मामु भन्यो ।’

सुस्मिताले भनिन्, ‘स्क्रिप्ट पनि अधकल्चो छ, मैले साइन पनि गरेको छैन के गर्ने भनेर सोध्यो । मैले स्क्रिप्ट सुनाउ त भनेँ ।’

‘अनमोलले सुनाए अनुसार चलचित्रमा उसको दुईवटा भूमिका छ जसमा एउटा पाइलटको भूमिका छ’, उनले भनिन्, ‘मैले आधा सुनेपछि स्क्रिप्ट चित्त बुझेन भनेँ । साइन गरेको छैन, खुरुक्क चेक फिर्ता गर्देउन भनेर सिकाएँ ।’

‘मैले बुवालाई चेक दिएर पठाउन त भन्दा बुवा यूरोप जानुभयो भन्यो । त्यसपछि मैले अर्को कोही विश्वासिलो मान्छेलाई दिएर पठाउ भने । उसले हुन्छ पनि भन्यो’, सुस्मिाताले भनिन् ।

‘बुवा हुनुहुन्न भनेपछि उसलाई खाना कसले पकाउँछ भनेर सोधेँ । उसले घरमा काम गर्ने छैन, बाहिरबाट मगाएर खान्छु भन्यो’, सुस्मिाताले भनिन्, ‘त्यसो भए तिमी यतै दार्जिलिङ आउन त केही दिनलाई भन्दा उसले घरमा कोको (कुकुर)छ उसलाई हेर्नुपर्छ भन्यो ।’

‘अनि म आफैं आउँछु अनि कोकोलाई पनि लिएर आउँला, काँकडभिट्टामा गाडी छोडेर दार्जिलिङ आउँलाभन्दा उसले एक्वेरियममा माछालाई खुवाउनुपर्छ, फूलमा पानी हाल्नुपर्छ भन्यो’, सुस्मिाताले भनिन्, ‘म यहाँ सेफ छु भनेपछि मैले पनि ठीकै छ भनेर छोडिदिएँ ।’

अनमोलकी आमा सुस्मिाता भारतको दार्जिलिङमा बस्दै आएकी छिन् । भवन केसीसँग डिभोर्स गरेपछि सुस्मिताले भारतीय नागरिकसँग विवाह गरेर बसेकी छिन् । सुस्मिाता पनि नेपाली मूलकी भारतीय नागरिक हुन् ।

चलचित्र ‘रावायण’मा अभिनय गर्ने विषयमा अनमोलन केसीले दश लाख रुपियाँ लिएर धोखा दिएको प्रहरीमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले अनमोललाई पक्राउ गरेको थियो । अनमोल दुई दिन प्रहरी हिरासतमा बस्नु परेको थियो ।

छोरा पक्राउ पर्दा भुवन केसी युरोपमा थिए । कान्छी पत्नी जिया केसीलाई लिएर भुवन जर्मनी लगायतका देशमा घुमफिरमा छन् ।

Published : Thursday, 2023 October 5, 11:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया